काठमाडौं, २९ असोज
हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं ।
के तपाईंलाई टीकामा आशिष दिँदा के–के भनिन्छ थाहा छ?
आयु द्रोण सुते श्रीयं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानं च दुर्योधने ।
सौर्यं सान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुत
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तीश्च नारायणे ।।
यस मन्त्रमा गुरु द्रोणाचार्यको पुत्र अश्वत्थामाको जस्तै आयु होस् । दशरथ राजाको जतिकै सम्पत्ती होस् । शत्रुको नाश गर्न भगवान राम झैं पराक्रमी हुनु । नहुष राजाको जस्तै ऐश्वर्य होस् । हावाको जस्तै गती र दुर्योधनको जस्तैं मान–सम्मान मिलोस् । सूर्यपुत्र कर्ण जस्तैँ दानी हुनु । शक्तिमा बलराम जस्तै हुनु । सत्यमा कुन्तीको पुत्र युधिष्ठिर जस्तै हुनु । विद्धवानमा विदुर बराबर हुनु । भगवान नारायणको जस्तो कीर्ति होस् भनेर भनिएको छ । यो नै मन्त्रको सार हो ।
यस विषयमा प्रष्ट हुन जरुरी छ की, यो श्लोक कुनै धार्मिक पुराण अन्तर्गतको होइन । यो श्लोक विशेषगरी नेपालमा मात्र प्रयोग हुन्छ । यो श्लोक नेपालका राजाहरूलाई टिका लगाउँदा प्रयोग भएको हुन सक्ने संस्कृत भाषाका ज्ञाताहरू बताउँछन् । किनकी यसमा रहेका सबै पात्रहरू राजपरिवार अन्तर्गतका छन् । त्यसैले यसलाई सुरुमा कुनै राजपुरोहीतले राजालाई आशीर्वाद दिन बनाएको हुनसक्छ ।
त्यस्तै विशेष गरी महिलालाई टीका लगाउँदा उच्चारण गरिने मन्त्र :
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते ।
यसमा कुनै विशेष आशिर्वाद नभएर देवीको स्तुती गाईएको छ । यसमा देवीको विभिन्न स्वरुपको नाम लिइएको छ । यो श्लोक चण्डीबाट साभार भएको हो ।
जयन्ती : जित्नेवाली
मंगलाकाली : मंगल गर्नेवाली देवी
भद्रकाली : दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी
कपालिनी : भगवती दुर्गाको अर्को नाम
दुर्गा : दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी
क्षमा : पृथ्वी
शिवधात्री : कल्याण गर्नेवाली
स्वाहा : दक्षप्रजापतीकी छोरी
स्वधा : दक्षप्रजापतीकी छोरी
नमोस्तुते : त्यसती देवीलाई नमस्कार छ ।
दसैंमा टीका लगाउँदा महिला र पुरुषलाई फरक–फरक आशीर्वाद दिनुको कारण हाम्रो पुरातन धारणा मात्र हो यो कुनै शास्त्रसम्मत होइन । तर हामीले बुझे झैँ दसैंमा महिला र पुरुषलाई टीका लगाउन यही मन्त्रको प्रयोग गर्नुपर्छ भन्ने धारणा चाहिँ गलत हो ।
आशीर्वाद भनेको शुभेच्छा हो । भलो चिताउनु हो । सफलताको कामना गर्नु हो । त्यसैले आशीर्वादमा कहिले पनि विभेद भन्ने कुरा हुँदैन । आशिर्वादले महिला र पुरुष छुट्टाउँदैन ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीकाजमरा लगाई आशीर्वाद लिने गरिन्छ ।