Admission Open

ad place

जेष्ठ नागरिक चौतारी, सपना र यथार्थ

इनरुवा सेवा समाज

‘नसकिन्छ गरिखान , नसकिन्छ मरिजान बुढेसकालैमा ।
नातीहरू गनगन् गर्छन् बुहारीले आँखा तर्छन् बुढेसकालैमा ।’

 

दीपक निरौला, इनरुवा

यो गीतका रचनाकार एकनारायण भण्डारी र बुद्धिसागर बस्याल हुन् । मान्छे गतिशिल प्राणी भएका कारण परिवारलाई सुखदिने नाममा अहिले धेरै मान्छे शहरकेन्द्रित हुन थालेका छन् । यो सन्दर्भ नेपालमा मात्र नभएर विश्वभर नै ‘ट्रेन्डिङ’ मा रहेको छ । आफ्नो पुरानो थातथलो तथा साथीभाइ इष्टमित्र सबै चटक्कै छोडेर वृद्ध परिवारका सदस्यलाई शहरको एक कुनामा सके घर, नसके कोठा भाडामा लिएर थन्क्याउने चलन आएको छ । अनि, आफू रोजगारीको लागि विहानदेखि नै दिनभर व्यस्त रहनु हरेक व्यक्तिको दिनचर्या भएको छ ।
मान्छे अहिले चराचुरुङ्गीको जस्तै दिनचर्या विताउन बाध्य हुन थालेका छन् । जहाँ खाना त्यही बसोबास । जहाँ रोजगारी त्यही बसोबास हुन थालेको छ ।

आँपका चिचिला नून खुर्सानीसँग साँधेर खाएकोदेखि नक्टाको खोले खाएको सम्मको कुरा हुन्छ । तर, काठमाण्डौमा त्यो कुरा गर्ने ठाउँको अभाव छ ।

सुनसरीको इनरुवाबाट काठमाडाँै बसाईं सरेर जाने व्यक्तिहरू बाक्लिन थालेका छन् । इनरुवा क्षेत्रका धेरैजसो घरहरू तालाचावीलाई रूंगारुको जिम्मामा छाडेर खाली भइरहेका छन् । एकै थलोमा बसेर काम गरेका, विहान बेलुका भेटोघाटो भएका साथीसँगी बजारीकरणको कारणले यहाँ जस्तो खुला रूपमा भेटोघाटो बाक्लिनुको साटो धेरै पातलिन थालेको छ । अक्सर भनेको वैवाहिक कार्यक्रम तथा मरौपरौमा मात्र काठमाडौँमा भेटाघाटको अबसर जुर्छ । काम गरिखानेलाई त समय नै हुँदैन । तर, जो घरमा वृद्धवृद्धाहरू हुनुहुन्छ उहाँहरूको लागि जाने ठाउँ कता त ? घरमा भएकी बुहारीले पुरानो थातथलोको मान्छे तथा परिवेश नै बुझ्दिनन् । भने , नातीनातिना मोवाइलको शिकार भएका छन्, उनीहरु त्यतै व्यस्त हुन्छन् । वल्लोपल्लो घरमा भएका वृद्धवृद्धा कोही पूर्वको कोही पश्चिमको भएपछि कसरी मिल्नु कुरा ?
माथि भनिएका यावत कुराको जति नै लामो लठारो दाम्लो बाटेपनि पस्यौटो र गाँठो एकै भनेझैं, केही वर्ष अगाडि काठमाडँौमा बसोबास गर्ने इनरुवा क्षेत्रका केही युवाहरू मिलेर इनरुवा सेवा समाज गठन गरेका छन् । समान्य भेटाघाटबाट सुरु भएको यो समूह पहिले विनाकामको भनेर आलोचनाको शिकार भएता पनि अहिले भने राम्रो काम भयो भनेर चारैतिरबाट सराहना हुन थालेको सेवा समाजका कोषाध्यक्ष पशुपति भण्डारी बताउँछन् । यो वर्ष इनरुवा सेवा समाजले परीक्षणको लागि काठमाण्डौमा बसोबास गर्ने ६० वर्ष माथिका जेष्ठनागरिकलाई समेटेर विभिन्न तिर्थस्थल भ्रमणको आयोजना गरेको थियो । समाजको अपेक्षा थियो करिव २५/३० जना । तर , ‘जव हिंड्नुभन्दा अगाडि ७० जना जेष्ठनागरिकहरू जम्मा भए । अनि, हौसियौं हामी ।’ सेवा समाजका अध्यक्ष गोपाल पोखरेल (बेलघरे) ले प्रफुल्ल मुद्रामा आफ्नो अनुभव बताए ।

यो साझा चौतारीलाई सबैको साझा बनाउन सबैले कम्मर कसेर अगाडि बढ्दा असम्भव हुने कुरै छैन । पुरा होस चाहना, सार्थक बनोस सपना, खुसीमा हास्ने, सुखमा रमाउने र दुख बाँड्ने चौतारी बनोस् साझा चौतारी ।

अहिले यो युवाको सेवा समूहले थुप्रै योजनाका पोका, पन्तुराको खाका तयार पारेको छ । यसलाई गैह्रनाफामूखी र विसुद्ध सेवामूलक बनाउन कसरी सकिन्छ भनेर अहोरात्र खटिरहेको इनरुवा सेवा समाजका महा–सचिव सुमन घिमिरे बताउँछन् । ‘हामीसँग पर्याप्त बजेट छैन । यसमा केही इनरुवा क्षेत्रका हृदयवान व्यक्तिहरूले मनको कुनो खोलेर सहयोग गर्नु भयो भने हामी यसलाई साँच्चै गौरव गर्न लायक बनाउछौं ।’ सचिव घिमिरेले सेवा समाजको वास्तविकता बताए ।

कोटेश्वरदेखि गठ्ठाघर क्षेत्रमा इनरुवा क्षेत्रका जेष्ठनागरिकहरूलाई रमाउनको लागि एउटा जेष्ठनागरिक चौतारी बनाउने महत्वकांक्षी योजना को परिकल्पना समाजका कोषाध्यक्ष पशुपति भण्डारीले गरेका छन् । विषेशगरी इनरुवा क्षेत्रका मान्छेको बसोवास काठमाण्डौको अनामनगर, कट्टेकुलो, मैतिदेवी, नयाँ, पुरानो बानेश्वरलगायतका क्षेत्रमा छ । भने, यता भक्तपुरको पुरै क्षेत्रमा यहाँका मानिसको घना वस्ती नै रहेको छ । यो क्षेत्रमा थोरै क्षेत्रफलमा भएपनि जग्गा प्राप्त गर्न सकियो भने यहाँ दिनभर समय विताउन मुस्किल पर्ने इनरुवा क्षेत्रका जेष्ठनगरिकहरू जम्मा भएर भलाकुसारी गर्ने र समय विताउन सहज हुने उनको विश्वास छ । कतै चेसको व्यवस्था गरिदियो, कतै लुँडोको कतै क्यारिमबोर्डको व्यवस्था भयो भने उहाँहरु पनि खुशी हुनुहुन्छ । समय– समयमा विभिन्न धार्मिक पर्वमा कथा वाचन, भजन कीर्तनलगायतका गतिविधिले वालक्लव जस्तै इनरुवा जृष्ठनागरिक क्लव झकिझकाउ पार्ने सोचले अगाडि बढको भण्डारी सबैसँग सहयोगको याचनामा छन् । उनले काठमाडौँमा रमेर, जमेर बसेका इनरुवावासीसँग कुरो उठान गरिकसकेका छन् ।
वास्तवमै पशुपती भण्डारीले कल्पना गरेको कुरा नाजायज भने छैन । इनरुवामा लामो समय बसेका व्यक्ति भेटहुँदा कुरा इनरुवा कै भइहाल्छ । आँपका चिचिला नून खुर्सानीसँग साँधेर खाएकोदेखि नक्टाको खोले खाएको सम्मको कुरा हुन्छ । तर, काठमाण्डौमा त्यो कुरा गर्ने ठाउँको अभावलाई पूर्ति गर्ने हो भने इनरुवावासीले मनको कुनो फुकाएर एकपटक सहयोग गर्नै पर्ने अवस्था आएको छ । कसैले एकतावद्ध हुन्छौ, सकेको सहयोग गरौं भनेर भन्दा हामी नेपालीले नाई भनेको अवस्था नै छैन । अर्को कुरा इनरुवावासी धनका मात्र नभएर साँच्चै मनका पनि धनी छौं । यसमा दुईमत छैन । भोलि निश्चित उमेर पुगेपछि अर्थात् ‘रिटायर्ड लाईफ’मा भेटहुने थलो हामी सबैको साझा थलो हुनेछ ।

यो साझा चौतारीलाई सबैको साझा बनाउन सबैले कम्मर कसेर अगाडि बढ्दा असम्भव हुने कुरै छैन । पुरा होस चाहना, सार्थक बनोस सपना, खुसीमा हास्ने, सुखमा रमाउने र दुख बाँड्ने चौतारी बनोस् साझा चौतारी ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...