वासिङ्टन, २१ फागुन (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकाको अर्थव्यवस्थामा शुल्कले केही ‘अस्थिरता’ ल्याउने भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई घरेलु उद्योगको विकासको एक उपकरणका रूपमा प्रस्तुत गर्नुभएको छ ।
“शुल्क केवल अमेरिकी रोजगारीको संरक्षण मात्र होइन । यो हाम्रो देशको आत्माको संरक्षण हो”, ट्रम्पले सांसदहरूको संयुक्त अधिवेशनलाई सम्बोधन गर्दै भन्नुभयो, “केही अस्थिरता आउनेछ तर हामी त्यसका लागि तयार छौंँ, त्यति धेरै होइन ।”
“त्यहाँ थोरै गडबडी हुनेछ तर हामी यससँग ठिक छौँ, यो धेरै हुनेछैन”, उहाँले भन्नुभयो ।
संयुक्त राज्य अमेरिकामा आफ्ना उत्पादनहरू नबनाउने कम्पनीहरूले शुल्क तिर्नुपर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, “केही अवस्थामा धेरै ठूलो शुल्क ।”
ट्रम्पले युरोपेली सङ्घ (इयु) र क्यानाडा, ब्राजिल, भारत, मेक्सिको र दक्षिण कोरियालगायतका देशहरूमा ‘अन्यायपूर्ण’ व्यापारिक अभ्यासहरूको आलोचना गर्नुभयो ।
“यो मित्र र शत्रु दुवैबाट भइरहेको छ । यो प्रणाली संयुक्त राज्य अमेरिकाका लागि उचित छैन र कहिल्यै पनि थिएन”, उहाँले भन्नुभयो ।
उहाँले अमेरिकी व्यापारिक साझेदारहरूका लागि तयार पारिएको पारस्परिक शुल्क अप्रिल २ देखि लागु हुने जानकारी दिनुभयो ।
ट्रम्पले रोजगारी सिर्जनाका साथै करबाट ‘खर्बौं डलर’ प्राप्त गर्ने वाचा गर्नुभएको छ ।
कार्यालयमा फर्केपछि ट्रम्पले क्यानाडा, मेक्सिको र चीनबाट आउने १४ खर्ब डलरका आयातमा शुल्क लगाउन चाँडै काम गर्नुभएको छ र थप शुल्कहरू पाइपलाइनमा छन् ।
यी कदमले वित्तीय बजारमा ठूलो हलचल ल्याएको छ । यसले तीव्र प्रतिशोधका साथ विपरीत शुल्क र अन्य उपायहरू आकर्षित गरेको छ ।