भ्याटिकन सिटी, ८ फागुन (रासस/एएफपी): पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । बिहीबार राति उहाँ आरामसँग निदाउनुभएको र बिहान कुर्सीमा बसी नास्ता लिनुभएको उहाँको उपचारमा संलग्न भ्याटिकनले अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
उहाँ ब्रोन्काइटिसका कारण गत शुक्रबार रोमको जेमेली अस्पतालमा भर्ना हुनुभएको थियो । उपचारकै क्रममा ८८ वर्षीय क्रिश्चियन धर्मगुरू पोपको दुवै फोक्सोमा निमोनिया देखिएको थियो ।
अस्पतालले बुधबार साँझ जारी गरेको अपडेटमा पोपको रगत परीक्षणमा ‘सामान्य सुधार’ देखिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।
यसैबीच, धर्मगुरू पोपलाई इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले भेट गर्नुभएको छ । “करिब २० मिनेटको भेटमा प्रधानमन्त्री मेलोनीसँग स्वभाविक कुराकानी भएको र उहाँलाई स्वागत गर्न धर्मगुरूसँग पर्याप्त ऊर्जा थियो,” अस्पताल स्रोतले बताएको छ ।
प्रधानमन्त्री मेलोनीले एक विज्ञप्ति जारी गर्दै उहाँलाई ‘सतर्क र उत्तरदायी’ महसुस गरेको बताउनुभएको छ ।
“हामी सधैंझैं ठट्टा ग¥यौँ । उहाँले आफ्नो हास्यबोध गुमाउनुभएको छैन्,” मेलोनीले भन्नुभयो ।
पोपले हालैका वर्षहरूमा ठूलो आन्द्रा र हर्नियाको शल्यक्रियादेखि लिएर हिँडडुलमा समस्याजस्ता थुप्रै समस्याहरूको सामना गर्नुपरेको छ । पछिल्लो समय उहाँ ब्रोन्काइटिसको उपचारका लागि अस्पताल हुनुभएको थियो तर उपचारका क्रममा उहाँमा निमोनियाको पनि समस्या देखिएको छ ।
अस्पतालको बसाइ लम्बिएसँगै आएका विविध हल्लाको खण्डन गर्दै भ्याटिकनले उहाँको स्वास्थ्य सुधारबारे नियमित अपडेट गराइरहेको छ ।
बुधबार साँझ जारी विज्ञप्तिमा पोपले आफ्ना सहकर्मीसँग पनि केही काम गरेको उल्लेख गरिएको छ ।
‘मेडिकल स्टाफले गरेको रगत परीक्षण र विशेषगरी इन्फ्लेमेटरी इन्डेक्समा केही सुधार देखिएको छ,” विज्ञप्तिमा भनिएको छ।
“नास्ता लिएपछि उहाँले ‘आफ्ना नजिकका सहयोगी’हरूसँग मिलेर काम गर्न अग्रसरता देखाउनुभयो,” विज्ञप्तिमा भनिएको छ।
भ्याटिकन स्रोतले बुधबार पोपले कुनै प्राविधिक सहयोगविना ‘आफैंले सास लिइरहेको’ र मुटुको धड्कन पनि स्वभाविकरूपमा चलिरहेको बताएको थियो ।