Admission Open

ad place

प्राकृतिक विपद्बाट प्रभावित सबै जिल्लामा राहतको प्रबन्ध भएको छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सरकारले प्राकृतिक विपत्बाट प्रभावित सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले क्रियाशील रुपमा मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य गरिरहेको बताएका हुन् ।

उनले मनसुनबाट ७७ जिल्ला नै प्रभावित भएका उल्लेख गर्दै सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताए । मनसुनजन्य विपद्बाट भएका क्षति र प्रतिकार्यमा मन्त्रालयले गरिरहेको कार्यबारे जानकारी दिँदै सरकारले आफ्नो स्रोत र साधन परिचालन गरी प्रतिकार्यलाई प्रभावकारी बनाइरहेको उनी बताउँछन् ।

“मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१, बमोजिम तीनवटै तहका संयन्त्र र गृह मन्त्रालयबाट विपद्का घटनामा तत्काल उद्धार, राहत एवं प्रतिकार्यका कार्यहरु भइरहेका छन्”, गृहमन्त्री लेखकले भने, “विपद् व्यवस्थापनमा सबै सुरक्षा निकाय, विभिन्न मन्त्रालय तथा विभाग बीचको समन्वयमा केन्द्रीय ‘कमाण्ड पोष्ट’ले काम गरिरहेको छ । ”

१३० को मृत्यु, ४८ बेपत्ता
गृहमन्त्रीले गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य विपद्का घटनामा परी १३० जनाको मृत्यु भएको र १४४ जना घाइते र ४८ जना बेपत्ता भएका जानकारी दिए । यसैगरी, ४ हजार घरपरिवार विस्थापित भएका, १ हजार ५९ परिवारलाई सुरक्षित आश्रयस्थलमा सारिएको ५९४ पशुुचौपाया मरेका तथा २३१ घर र ८४ गोठमा क्षति पुगेको बताए ।

वर्षाजन्य विपद्बाट ४३ वटा साना ठूला पुल बगेका, दुई वटा सरकारी भवन भत्किएका,े खोज र उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल नेपालबाट ३ हजार ९५६ जना परिचालन भएका उनले बताए । गृहमन्त्रीका अनुसार ९८९ जनाको सकुशल उद्धार भएको छ । विपद्जन्य घटनामा ज्यान गुमाएका १३० जनामध्ये ४७ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ भने बाँकी परिवार राहत पाउने प्रक्रियामा छन् ।

त्यसैगरी ४८ जना बेपत्ता छन् । सरकारले बेपत्ता भएकालाई १० दिनभित्र पत्ता नलागे मृतक सरह राहत उपलब्ध गराउने निर्णयअनुसार उनीहरुका परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने प्रक्रिया प्रारम्भ भएको गृहमन्त्री लेखकले सदनलाई जानकारी दिए । दैवी विपत्तिमा घाइते भएका १४४ जनामध्ये ५ जना उपचारत छन् ।

सिमलताल पहिरोः बेपत्ता बस खोजिँदै
गृहमन्त्री लेखकले गत असार २८ गते चितवन जिल्लाको सिमलताल पहिरोमा परी बेपत्ता भएका २ वटा बसका ६२ जना यात्रीमध्ये २४ जनाको शव फेला परेको बताए । उनका अनुसार १९ जनाको पहिचान भई आफन्तले शव बुझेका छन् । ५ शवको पहिचान हुन बाँकी छ । हराइरहेका अन्य ४३ जनाको खोजी जारी छ । उनले भारतीय र नेपाली टोलीबाट संयुक्त रुपमा खोजी भइहेको बताएका छन् । “आज बिहानदेखि सिमततालदेखि घुमाउने केराबारीसम्म खोज पुनः सुरु गरिएको छ । खोजमा ३६८ सुरक्षाकर्मी खटिएका छन्”, गृहमन्त्री लेखकले भने । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...