स्थानीय सरकारले नीति–योजना बनाउने हो र त्यसको पालन गर्ने भनेको नगरबासी र समुदायले नै हो । जबसम्म नगरपालिकाले तयार गरेको नीति, नियम र काममा समुदायले अथवा नागरिकले जिम्मेवारीपूर्वक अपनत्व लिँदैनन् तबसम्म कुनै पनि विषयलाई कार्यान्वयन गर्न सकिँदैन । वायु प्रदूषण न्यूनीकरणमा नागरिक र समुदायको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ ।
विश्व स्वास्थ्य संगठन (WHO) को तथ्याङ्क अनुसार विश्वमा ९९% मानिसहरु प्रदूषित वायु भएको ठाउँमा बसोवास गर्दछन् । वर्षेनी करिव ७० लाख मानिसको मृत्यु वायु प्रदुषणबाट हुने गरेको छ । नेपालमा मात्र वर्षमा करिव ४२,१०० र काठमाडौंमा मात्र ५,००० भन्दा बढी मानिसको मृत्युको मुख्य कारण वायु प्रदूषण हो भन्ने देखाएको छ । नेपालमा वायु प्रदुषणको कारणले मानिसको औसत आयु ४.६ वर्ष कम भइरहेको छ । काठमाडौंमा मात्र वायु प्रदुषणको कारणले मानिसको औसत आयु ३.५ वर्ष कम भएको पनि एक तथ्याङ्कले देखाएको छ ।
यस अवस्थामा चाँगुनारायण नगरपालिकाले वायु प्रदूषणको समस्यालाई सन्बोधन गर्न वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०८० सार्वजनिक गरेको छ । प्रस्तुत छ, यसै विषयमा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीसँग नेपालीमाला डटकम (www.nepalimala.com) का प्रतिनिधिले गरेको कुराकानीको सक्षिप्त अंश :
अहिले चाँगुनारायण नगरपालिकामा वायु प्रदूषणको अवस्था कस्तो छ ?
चाँगुनारायण नगरपालिकामा हालको अवस्थामा एयर क्वालिटी इन्डेक्स ० देखि ५० को रेन्जभित्र रहेको छ, जुन राम्रो अवस्था हो । अहिले बर्षातको मौसम भएको कारण यो कम भएको हो तर हिउँदको समयमा वायु प्रदूषण यहाँ उच्च हुने गरेको छ । नगरपालिका भित्र रहेको ५२ वटा ईट्टा उद्योगहरु मध्ये यस वर्ष विभिन्न कारणले गर्दा २८/२९ वटा मात्र उद्योगहरु संचालनमा रहेका छ । भित्र भन्दा पनि अन्यत्रबाट आएको प्रदूषणले नगरपालिकालाई असर गरिरहेको छ । काठमाण्डौँ उपत्यका भित्रको पश्चिमी वायु चाँगुनारायण नगरपालिकाको डाँडामा आएर ठोकिने र उपत्यका बाहिर जाने प्रदुषित हावा नगरपालिका हुँदै बाहिरिने हुँदा उपत्यकाभित्र रहेका पालिकाहरु मध्ये चाँगुनारायण वायु प्रदूषणको हिसाबले उच्च जोखिममा रहेको छ ।
वायु प्रदूषण समाधान गर्न नगरपालिकाको मुख्य योजनाहरु के–के छन् ?
हामीले वायु प्रदूषण कम गर्न ३ बर्षको कार्ययोजनासहित वायु गणस्तर व्यवस्थापन कार्य योजना २०८० सार्वजनिक गरेका छौँ । ७५३ स्थानीय निकायहरु मध्ये चाँगुनारायण यस योजना निर्माण गर्ने पहिलो पालिका हो । आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रममा वायु प्रदूषण न्यूनिकरणको लागि अभियान संचालन गरिने विषयलाई पनि समेटिएको छ ।
१५ औं नगर सभाबाट आ.व. २०८१/०८२ को लागि वन, वातावरण र सरसफाइ क्षेत्रमा स्विकृत नीति तथा कार्यक्रमः
– स्वच्छ हावा, स्वच्छ पानी हाम्रै हातमा, व्यवस्थित वस्ती बनाऊँ मिलि साथमा अभियान संचालन गरी सफा टोल/समुदाय/वडा बनाउने अभियानमूलक कार्यक्रम संचालन गरिनेछ ।
– विद्यालय र समुदायस्तरको फोहोर मैला व्यवस्थापनमा मेरो खल्ती मेरो पहिलो डस्टविन भन्ने सचेतनामूलक अभियान संचालन गरिनेछ ।
– नगर क्षेत्र भित्रको समुदायहरुमा फोहरलाई स्रोतमा नै वर्गीकरण गरी कुहिने र नकुहिने छुट्याई कुहिने फोहरलाई कम्पोष्ट मलको रुपमा करेसाबारी तथा कौसी खेतीमा प्रयोग गर्न प्रेरित गरिने छ ।
– दिसाजन्य लेदो व्यवस्थापन लगायतका सरसफाइ व्यवस्थापनका लागी सहयोगी संस्थाहरुको सहयोग र सहकार्यमा सरसफाइ पार्क सहितको प्रशोधन केन्द्र निर्माण तथा संचालन गरिनेछ ।
– काठमाण्डौं उपत्यकाको अन्य पालिकाहरुसँग (अन्तर सरकार) वायु प्रदूषण न्यूनीकरण र नियन्त्रणमा समन्वय र सहकार्य गरिनेछ ।
– चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०८० लाई कार्यान्वयनमा ल्याइनेछ ।
– अति व्यस्त सार्वजनिक स्थलहरुमा चाँगुनारायणको सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडेल अनुसारको सार्वजनिक शौचालय संचालन र व्यवस्थापन गरिनेछ ।
– सफासुग्घर घर आँगन सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो अभियानलाई सार्थक बनाउने नीति लिईनेछ ।
– ३ पाङ्ग्रे विद्युतीय सवारी साधन संचालनको लागि मेयर उद्यमशीलता कार्यक्रम अन्र्तगत यो आ.व. २०८१/०८२ को लागि बजेट विनियोजन गरिनेछ ।
चाँगुनारायण नगरपालिकाले वायु प्रदूषण कम गर्न चालेका कदमहरू के–के हुन् ?
– हामीले जनचेतना अभिवृद्धिमा अत्यन्त जोड दिइरहेका छौँ । वायु प्रदूषण न्यूनीकरण सम्बन्धी सूचना सन्देशहरु रेडियो, पत्रपत्रिका, अनलाईन लगायतको सामाजिक सञ्जालहरुमा प्रशारण तथा प्रकाशन तीव्र रुपमा गरिरहेका छौँ ।
– आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रममा पनि वायु प्रदूषण रोकथामलाई समावेश गरेका छौँ ।
– सहयोगी संघ–संस्थाहरुसँगको सहकार्यमा सरसफाइ अभियान र वृक्षारोपण, जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेका छौँ ।
– विद्यालयहरुमा ईको क्लब गठन गरी उक्त क्लबहरुलाई अभियानहरुमा परिचालन गरिरहेका छौँ ।
– उद्योगहरुसँग पनि वायु प्रदूषण रोकथाम सम्बन्धी छलफल र अन्र्तक्रिया गरिरहेका छौँ ।
– स्वच्छ हावा प्रवद्र्घनको लागि नागरिक स्तरको स्वच्छ हावा सञ्जाल गठन तथा संस्था दर्ता र क्षमता अभिवृद्धिमा नगरपालिका र सहयोगी संस्थाहरुको सहकार्यमा सहजीकरण गर्दैछौँ ।
वायु प्रदूषण न्यूनीकरणको पहलमा स्थानीय बासिन्दा र समुदायको संलग्नताको कत्तिको महत्व छ ? र कसरी संलग्नता भइरहेको छ ?
वायु प्रदूषण न्युनीकरणमा स्थानीय बासिन्दा र समुदायको संलग्नताको धेरै नै महत्व छ । स्थानीय सरकारले नीति–योजना बनाउने हो र त्यसको पालन गर्ने भनेको नगरबासी र समुदायले नै हो । जबसम्म नगरपालिकाले तयार गरेको नीति, नियम र काममा समुदायले अथवा नागरिकले जिम्मेवारीपूर्वक अपनत्व लिँदैनन् तबसम्म कुनै पनि विषयलाई कार्यान्वयन गर्न सकिँदैन । वायु प्रदूषण न्यूनीकरणमा नागरिक र समुदायको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ । त्यसैले नगरमा समुदायको संलग्नता बढाउनका लागि जनचेतनामूलक अभियानहरुमा नागरिकलाई प्रत्यक्ष सहभागी गराइरहेका छौँ । तालिम, अभिमुखिकरण, नियमित सरसफाइ अभियान, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरु हामीले नियमित रुपमा सञ्चालन गरिरहेका छौँ ।
वायु प्रदूषण न्यूनीकरण योजनाको कार्यान्वयनमा नगरपालिकाले कस्ता चुनौतीहरू आउन सक्छन् र कसरी सम्बोधन गर्ने योजना बनाउनु भएको छ ?
वायु प्रदूषणको रोकथाममा मुख्य चुनौतीहरु भनेका योजना कार्यान्वनमा उत्पन्न हुने प्राविधिक कठिनाई, बजेटको कमिका साथै नागरिक, समुदाय र उद्योगबाट अपेक्षित सहयोग र सहकार्य प्राप्त गर्न नसक्नु नै हुन सक्छन् । यि चुनौतीहरुको सम्बोधन गर्न हामी विभिन्न उपायहरु अपनाउने छौँ । हामीले सहयोगी संघ संस्थाहरुको सहयोग र समन्वय गर्नुका साथै नागरिक र समुदायमा सचेतना अभिवृद्धि, अभियान संचालन र जिम्मेवारी बोध गराउने कार्यक्रमहरु गर्नेछौँ । वायु प्रदूषणलाई बजेटमा प्राथमिकतामा राखी आवश्यक बजेटको व्यवस्थापन गर्नेछौँ । उद्योग व्यवसायीलाई अन्य विकल्पहरुमा लाग्न प्रेरित गर्न अथवा वातावरणमैत्री उद्योग निर्माणमा सहजीकरण गर्न सहयोग प्रदान गर्नेछौँ । साथै अन्तर पालिका समन्वय र सहकार्यमा पनि जोड दिनेछौँ ।
चाँगुनारायण नगरपालिकाले वायु प्रदूषण न्यूनीकरणको पहलमा अन्य संस्थाहरू वा अन्तर्राष्ट्रिय निकायहरूसँग साझेदारी गरेको छ ?
वायु प्रदूषण न्यूनीकरणको पहलमा नगरपालिकाले वातावरण विभाग, काठमाण्डौं उपत्यका मेयर्स फोरम, नेपाल नगरपालिका संघ (मुहान), मा म आफू वातावरण समिति संयोजकको जिम्मेवारी लिई रहेको छु । साथै ग्क्ब्क्ष्म् स्वच्छ हावा परियोजना अन्र्तगत एफ एच आई ३६०, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी , एपिक, वान टु वाच, लगायत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसंग समन्वय र सहकार्य गरिरहेका छौं । यसका साथै विश्व बैंकसँग पनि छलफल भइरहेको छ । युएसएड स्वच्छ हावा परियोजना नगरपालिका क्षेत्र भित्र विभिन्न संस्थासँगको सहकार्यमा संचालन गरिरहेका छौँ ।