काठमाडौं : सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाइने भएको छ ।
गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री ¥याम्प (सिँढी) राख्न निर्देशन दिएको हो ।
सार्वजनिक यातायातलाई अपाङ्ग र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र ¥याम्प (सिँढी) राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायी सम्बद्ध सङ्घ, संस्थाहरूलाई निर्देशन गर्नका लागि यही जेठ १७ गते सचिवस्तरीय निर्णय गरी पत्रचार गरिएको जनाइएको छ ।
अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरुलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बस मा अनिवार्य अपाङ्गतामैत्री ¥याम्प राख्न निर्देशन दिइएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
“परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपाङ्ग र अशक्त भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो” उनले भने ।
समाज तथा राज्यले समेत विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै हरेक क्षेत्रबाट यसैगरी उनीहरुलाई सहज हुने वातावरण सिर्जना गर्दै जानुपर्ने गृह सचिव अर्यालको भनाइ छ । (रासस)