काठमाडौँ : शनिबार कैलालीको भजनी नगरपालिका-९ पचमुडियाका एक सय ७४ थारू समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुलो बनाइएको छ भने खाने कुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुका अबेर घर फर्किए ।
शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका-८ दीपनगरका थारू समुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए ।
गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका-११ सिसैयाका ६२ थारू परिवार पनि कन्द्रा नदी किनारमा खुला आकाशमुनि त्यसैगरी बसेर फर्के । खानेकुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।
यसरी नदी छेउ गएर खुलाचौरमा उनीहरु कुनै बाध्यताले नभई थारूहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुरलगायतका थारू समुदायमा भजहरको रौनक छाएको छ । भजहर मनाउन उनीहरु खुला चौरमुनि बसिरहेका देखिन्छन् ।