# सोनाम सज्जन किराँती
मेरो पर्खाइ
होईन, रक्सी भट्टिको सितन-
कतिखेर सड्छ र खाउँला भनेर
सिनो खोज्ने गिद्धकोजस्तो हाईन-
मेरो पर्खाइ त,
स्वच्छ रातहरुले
उज्यालो दिन पर्खे जस्तै
निदहरुले सुन्दर सपना देखेजस्तै
र दल्सिन ढुङ्गाको संघर्षबाट निस्केको आगो जस्तै-
म पर्खालभित्र थुनिएर
सजायको भुक्तान गरेको अपराधी होईन
बरु, धैर्यको पर्याय हुँ
बकुल्लाजस्तै-
र सहनसिल बगर हुँ
अजिव/अडिग पत्थरजस्तै
जो थुप्रिएको छ
वषौँदेखि नदी किनारमा-
मलाई बगाउन सक्छ बाढीले
हल्लाउन सक्छ भुकम्पले
तर चलाउन सक्दैन
कुल्चेर खुनी पाईतालाले
सक्दैन खराब बनाउन
फोकटको दुर्गन्धले
मेरो पर्खाइलाई लत्याएर रोकिने छैन समयको गति
मैले पर्खेको हुँ
न्यायको श्वास भर्ने योद्दाहरु
जो हराएका छन्
मैले पर्खेको हुँ
समानताको धुन खोज्ने आँखाहरु
जो छोपिएका छन्
अनि पर्खेको हुँ
समाज परिवर्तनको जागा मानसिकता
जो बेपत्ता छ अहिले-
म पर्खिरहेछु निसापको पक्ष
र आतुर छु सत्य भेट्न-
उभिएको हुँ एक थुङ्गा सगरमाथा
जहाँबाट मात्र उदाउनेछ
विश्व सभ्यताको मानक साम्यवाद
खासमा म
हो त्यो दिनको पर्खाई मेट्न
बाँचिरहेछु ।
# खोटाङ