काठमाडौँ : नेपाल टेलिकमले अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी अत्याधुनिक दूरसञ्चार सेवाहरु सुलभ दरमा उपलब्ध गराइरहेको छ । अन्य विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको छ । यसबाट अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु केही अवधिका लागि उपयोग गर्नबाट हजारौं प्रयोगकर्ताहरु तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ । यही क्रममा हिजोदेखि काठमाडौ उपत्यकाकाको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित गुम्बाचोकमा वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा कम्पनीका संरचनामा क्षती पुगेको छ । वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा एरियल केबलमा क्षति पुगेकाले गुम्बाचोकका सयौं यस कम्पनीका सेवाग्राही एक्कासी टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाबाट वञ्चित हुनुपरेको छ ।
नेपाल टेलिकमले पटक पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रति कम्पनी दुख व्यक्त गर्दछ विज्ञप्तिमा भनिएको छ । साथै, अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग पुःन अनुरोध गर्दछौं विज्ञप्तिमा उल्लेख छ ।
सेवा प्रवाहमा समस्या आएको सो क्षेत्रमा कम्पनीले यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी गरेको छ । सेवाग्राहीहरु निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने यस अवस्थाप्रति कम्पनी क्षमाप्रार्थी हुनुका साथै कम्पनीका सेवा प्रयोगमा निरन्तरताको अपेक्षा गर्दछौं । टेलिकमले विज्ञप्तिमा भनेको छ ।