काठमाडौं, १७ माघ : सेयर बजारको ओरालो यात्रा जारी रहेको छ । सोमबार ४१ दशमलब ०१ अंकले घटेको सेयर बजार परिसुचक (नेप्से ) मंगलबार पनि पुनः १४ दशमलव ७० अंकले घटेको छ । आइतबारबाट सेयर बजार लगातार घटीनै रहेको छ । तेस्रो कारोबार दिन मंगलबार १४ दशमलव ७० अंकले घटेर २ हजार १ सय ११ दशमलव ६८ अंकमा झरेर बन्दा भएको छ ।
आज कुल २५९ कम्पनीका ५३ हजार ८७८ वटा कारोबारबाट ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रुपैयाँ कारोबार भएको छ । सोमबार ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको सेयर कारोबार भएको थियो ।
सोमबारको सेयर कारोबारकाे तुलनामा मंगलबार सेयर कारोबारमा कमी आएको छ । दिनभर कुल ५७ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ११ को स्थिर रहृयो । कारोबार रकमका आधारमा रिडी पावर, लुम्बिनी जनरल, गुरास लाइफ, एनआईसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।
बैंकिङ ११, विकास बैंक १३, फाइनान्स १३, होटल तथा पर्यटन २२, जीवन बीमा १२८, उत्पादन ४३, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३२, अन्य ९ र ब्यापार उपसमूह १३ अंक घटे ।