काठमाडौं : नयाँ सरकार गठन भएसँगै सेयर बजार परिसूचक (नेप्से) ले छलाङ मारेको छ । हिजो नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका छन् । पौडेलले अर्थमन्त्रीको शपथ लिएसँगै सेयर बजारमा सकारात्मक सूचक देखिएको छ।
साताको तेस्रो दिन आज पनि नेप्से बढेको छ । सोमबार दोस्रो दिन ५६ दशमलव ८८ अंकले बढेको नेप्से आज नेप्से ५९ दशमलव ८७ अंकले बढेर १ हजार ९ सय ८३ दशमलव ९५ प्रतिशतमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । सोमबार कुल २ अर्ब ९ करोड ७० लाखको कारोबार भएकोमा आज ३ अर्ब ८८ करोड ४३ लाखको कारोबार भएको छ ।
आज कुल २०२ कम्पनीको मूल्य बढ्दा ८ को घटेको छ भने, २ को स्थिर रहेको छ । सबै उपसमूहहरु बढेका छन् । आज बैंकिङ ३५, विकास बैंक १००, फाइनान्स ६७, होटल तथा पर्यटन ११७, जलविद्युत् ९५, जीवन बीमा ३७२, उत्पादन ७२, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा २८३, अन्य ३७ र व्यापार उपसमूह ५३ अंक बढेका छन्।
८ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ। सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्स्योरेन्स र सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ ।