काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ६५१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ३४१ जनाले पिसीआर र दुई हजार ३१० जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ६४ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९८ हजार ९०० ले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या एक हजार ७७६ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । होम आइसोलेशनमा एक हजार ७०१, संस्थागत आइसोलेशनमा ७५, आइसियु १५ र भेण्टिलेटरमा एक संक्रमित रहेका छन् ।
हाल ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौं रहेको छ । शून्य संक्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, बाजुरा र डढेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा एक हजार १३, ललितपुर ९२ र भक्तपुरमा २८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमण दर १७ प्रतिशत रहेको छ ।