काठमाडौं : सेयर बजारको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । हिजो ५९ दशमलव ५४ अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले बढेको छ ।
आज नेप्से १४ दशमलव ७१ अंकले बढेर २ हजार १ दशमलव ५३ बिन्दुमा पुगेको छ । आज एक सय २० वटा कम्पनीका ६२ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँको कारोबार भएका छन् ।
नेप्सेसँगै होटल र निर्जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । आज हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ ।
आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ । नबिल प्रगति फन्डको सेयर १० प्रतिशतले, माथिल्लो तामाकोशी जलविद्युत् र प्रभु सेलेक्ट फन्डको शेयर ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्वाधिक ५.०१ प्रतिशतले, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३.३१ प्रतिशत र समिट लघुवित्तको सेयर मूल्य ३.०१ प्रतिशतले घटेको छ ।