काठमाडौँ : एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छानामाथिको पुन संरचना÷सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरू खुल्ला चौरमै पढ्न बाध्य थिए । एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट क्षेत्रीय प्रवन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरू निर्मल गौली लगायतको उपस्थिति रहेको थियो भने विद्यालयको तर्फबाट विद्यालय ब्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थी र पत्रकारहरू लगायत सदस्यहरूको उपस्थिति थियो । उक्त कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरूको पठनपाठनमा सहज हुने विश्वास ब्यक्त गर्नु भयो ।
बैंकले वित्तीय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरू हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए । ‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावक सबै खुसी छौं ।’ प्रधानाध्यापक खड्काले भने, ’वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ । ’
विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
