
#यम बास्तोला
जुस बनाउने कम्पनीमा हरेक दिन फ्रिजमा राखेको कागतीमध्ये एक केजी कागती हराउँन थाल्यो ।
कागती हराएको पोल मालिकको कानमा परेपछि मालिकले एउटा लोक्पा नामको कामदारलाई भने, ‘अव हरेक दिन सोक्पाले कागती किनेर ल्याउने बित्तिकै तिमीले धुँदै जोख्दै गर्नु र दिनभरिमा खपत भएको कागतीको पनि हिसाब राखेर मलाई भन्नु ।
अर्को दिनदेखि लोक्पाले लगातार त्यसै गर्न थाल्यो ।
जव सोक्पा कागती किनेर ल्याउँथ्यो, लोक्पा हतार-हतार पखाल्थ्यो र जोखेर हिसाब राख्थ्यो ।
त्यसमध्ये एक केजी छुट्याउँथ्यो र अलग्गै राख्थ्यो ।
एवं रीतले महिनादिनसम्म त्यसो गरेपछि एक दिन मालिकले लोक्पालाई बोलाए र सोधे, के भईरहेको छ ?
लोक्पाले भन्यो, अरु त सबै ठिकैछ हजुर तर हरेक दिन एक केजी कागती हराई रहेको छ ।
यसरी कागती हराएको निहुँमा मालिकले सोक्पालाई कामबाट निकाली दिए ।
अव कागती किन्ने, पखाल्ने र हिसाब राख्ने काम पनि लोक्पाको जिम्मामा आयो ।
सोक्पाले काम छोडेको केही समयपछिनै दिनको २ केजी कागतीको खपत कम भयो । अर्थात जुसको व्यापार कम हुन थाल्यो ।
दिनकै २ केजी कागती बढी हुन थालेपछि, अव लोक्पाको मनमा नयाँ विचार आयो ।
अर्को दिनदेखि आफूले किनेर ल्याएको कागतीमध्ये २ केजी एउटा होटललाई बेचेर खपत हुने जति मात्रै फ्याक्ट्रीमा ल्याउन थाल्यो ।
केही महिनापछि मालिकले लोक्पालाई बोलाए र सोधे,
अहिले के भईरहेको छ ?
लोक्पाले मालिकतिर नहेरी आँखा झिमझिम पार्दै र हत्केला माड्दै भन्यो,
अहिले त हिसाब एकदमसँग मिलिरहेको छ ।
#खोटाङ