काठमाडौँ, माघ
क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका भारतीय रघु राम श्रीनिवास नेपाली क्रिकेट टिमकाे फिल्डिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् ।
उनी नेपाली टिमकाे क्लाेज क्याम्पकाे जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेका नेपाल क्रिकेट संघ क्यानले जनाएकाे छ ।
श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसंग पनि काम गरिसकेका छन्। नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके अमेरिकाको मुख्य प्रशिक्षक रहंदा श्रीनिवास फिल्डिंग प्रशिक्षक थिए।
श्रीनिवास नेपाल आइपुगेकोमा प्रशिक्षक दासानायेकेले खुसि व्यक्त गरेका छन् – “प्रशिक्षक रघुले म अमेरिकामा हुँदा संगै काम गरेका थिए। उनि निकै उर्जावान फिल्डिंग प्रशिक्षक हुन् जसले नेपालको केहि कमजोर पक्षमा काम गर्नेछन्। छोटो निम्तोमा पनि आफ्नो महत्वपूर्ण समय दिन आइपुगेकोमा म आभारी छु।”
नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा आइसिसी टी-२० विश्वकप २०२२ को विश्व छनोट खेल्दैछ। त्यसअघि नेपालले ओमानमै चार देश सम्मिलित टी-२० सिरिज खेल्नेछ। सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा आयोजक ओमानसंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी १२ तारिखमा युएईसंग तथा तेश्रो खेल फेब्रुअरी १४ तारिखमा आयरल्याण्डसंग खेल्नेछ।
सिरिजमा सहभागिता पछि नेपालले फेब्रुअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए’ खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन्।