काठमाडौँ, माघ १४
कतारमा हुने फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले चिलीलाई हराएको छ। लियोनेल मेस्सीविनाको अर्जेन्टिनाले बिहीबार चिलीलाई २-१ ले पराजित गरेको हो ।
अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको १०औं र लाउटारो मार्टिनेजले ३४औंमिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाकाको १४ खेलबाट ३२ अंक पुगेको छ । अर्जेन्टिनाले कतार विश्वकपमा आफ्नो नाम पक्का गरिसकेको छ । यता हारसँगै चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ । चिली १६ अंकका साथ सातौं स्थानमा छ ।
छनोटकै अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १-० ले पराजित गरेको छ । उरुग्वेका लागि लुइस सुआरेजले खेलको ५०औं मिनेटमा गोल गरेका थिए ।
जितपछि उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पाराग्वे १५ खेलबाट १३ अंकसहित नवौं स्थानमा छ ।
अंक तालिकामा शीर्ष स्थामा ब्राजिल (३६ ) , दोस्रो स्थानमा अर्जेन्टिना ( ३२ ) छन् । दुवै टिम विश्वकपमा छनोट भइसकेका छन्। तेस्रो स्थानको इक्वेइडरको २४ र चौथो स्थानको उरुग्वेको १९ अंक छ।
कोलम्बिया १७ अंङ्क जोडेर पाँचौ, पेरु १७ अंक जोडेर छैटौं र चिली १६ अंक जोडेर सातौं स्थानमा छन्।
दक्षिण अमेरिकाबाट चार टिम सिधा विश्वकपमा छनोट हुँदा पाँचौ हुने टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ।