टोरन्टो : नेपाली इन्जिनियरका रुपमा विदेशमा काम गरिरहेका १७ स्रष्टाहरुले संयुक्त संस्मरण संग्रह ‘आँगन छोडेपछि’ प्रकाशन गरेका छन्।
शिखा पब्लिकेशनबाट प्रकाशित संस्मरण संग्रह पुस ९ गते शुक्रबार पुल्चोक इन्जिनियरिङ क्याम्पसको लाइब्रेरी हलमा विमोचन गरिने भएको छ।
कृति प्रवर्द्धनका लागि हाल काठमाडौमा रहेका लेखक तथा सम्पादक इ. केशवराज ज्ञवालीले यो संग्रह नेपाली साहित्यमा प्रविधि, पूर्वी–पश्चिमी सांस्कृतिक अन्तरघुलन र श्रेष्ठताको कठोर यात्राको बारेमा तथ्य र यथार्थपरक उल्लेख्य पुस्तक हुने बताए।
इन्सास अन्तर्राष्ट्रिय समितिको झन्डै २ वर्षको मेहनतले तयार उक्त पुस्तकमा विदेश गएपछि पनि आफ्नो इन्जिनियरिङ पेशाको जागिर नपाउँदासम्म गरेका संघर्ष समेटिएका छन्।
संघर्ष जति नै कठिन रहे पनि ती सफलतामा टुङ्गिएका छन्। मुख्य कुरो हरेक लेखनमा एउटा एउटा बाटो, शैली र सोचको बर्णन गर्दै सफलताको रहस्य उद्घाटित रहेको अर्का सम्पादक तथा लेखक इ. विजयराज भट्टराईको भनाइ छ।
‘तपाईंका आफन्त पनि इन्जिनियरिङ पढ्न चाहनुहुन्छ र विदेशमा आफ्नो क्षमता, दक्षताले स्थापित हुने सपना देख्नुहुन्छ छ भने यो पुस्तक उहाँहरुमा समर्पित छ’ सम्पादक तथा लेखक इ. कृष्ण कुसुमले भने।
यो एक प्रकारको प्रवासमा प्राविधिकको सफलताको लाई शुत्रबद्ध र रोचक हाते किताब भएको अर्का सम्पादक तथा लेखक इ. सतिश त्रिपाठीले बताए।
प्राविधिक सीप लिएर विदेश प्रोफेसनल काम गर्न जाँदै हुनुहुन्छ भने यो पुस्तक उहाँहरुको सफलताका लागि महत्वपूर्ण मार्गदर्शन हुने सर्जकहरुको दाबी छ।
केशवराज ज्ञवाली, बिजयराज भट्टराई, कृष्ण कुसुम, सतिश त्रिपाठी र कुसुम ज्ञवालीलगायत ५ जना सम्पादकको टिमले झन्डै २ वर्षको मेहनत यो पुस्तक तयार पारेको हो।
सफलताका लागि विदेशमा के गर्ने, विदेशमा सुख समृद्धि कसरी हासिल हुन्छ भन्ने विषयमा मिठो शैलीको स्वादमा प्रस्तुत १७ भिन्नभिन्न स्थानका केस–स्टडी यसमा समावेश छन्।
उत्तर अमेरिका, युरोप, एसिया र अस्ट्रेलिया महादेशमा काम गरिरहेकाहरुको अनुभवका कथा समेटिएको छ।
संस्मरणका लेखकहरुमा ऋषिराम पराजुली (बेलायत), कुसुम ज्ञवाली (क्यानाडा), कृष्ण कुसुम (अमेरिका), केशव शर्मा (अष्ट्रेलिया), केशवराज ज्ञवाली (अमेरिका) छन्।
यसैगरी गोविन्दप्रसाद गौतम (रसिया), जीवा लामिछाने (जर्मनी), प्रमोद अमात्य (अमेरिका), नगेन्द्र न्यौपाने (अमेरिका),प विजयराज भट्टराई (अमेरिका), मधु माधुर्य (अमेरिका), मनोज कार्की (अमेरिका) लगायतको संस्मरण उक्त कृतिमा समेटिएका छन्।
संस्मरणका अन्य स्रष्टाहरुमा राजन महर्जन (अमेरिका), सतिश त्रिपाठी अमेरिका), सन्तोष न्यौपाने (अमेरिका), शर्मिला पोख्रेल (क्यानाडा) र सुशील ताम्राकार (अमेरिका) छन्।