ठाकुरबाबा (बर्दिया), २३ फागुनः नेपाल प्राज्ञिक आधारभूत विद्यालय जब्दी, बारबर्दियाले तीनतारेको उपाधि प्राप्त गरेको छ । नेपाल सरकारको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुसार मापदण्ड पूरा गरेपछि विद्यालयले उक्त उपाधि हासिल गरेको हो ।
नगरपालिकाले तयार पारेको कार्यविधिअनुसार अनुगमन तथा मूल्याङ्कन गर्दा बारबर्दिया नगरपालिका–११ मा अवस्थित विद्यालयले तेस्रो तारामा पनि ३० अङ्क प्राप्त गरेपछि सामाजिक विकास समितिले विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरेको नगरप्रमुख छविलाल थारुले जानकारी दिनुभयो ।
बर्दियाकै पहिलो तीनतारे प्राज्ञिक आधारभूत विद्यालयका रूपमा चयन भएको विद्यालयमा सुरक्षित खानेपानी, स्वच्छ शौचालय, फोहरमैला व्यवस्थापन, साबुन पानीले हातधुने सुविधा, आकर्षक फूलबारी र दिवा खाजाको उचित व्यवस्था उपलब्ध रहेको विद्यालयले जनाएको छ ।
वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा बेस संस्थाद्वारा वास गेन्स परियोजनाअनुसार विद्यालयमा काम भइरहेको बेस बर्दियाका परियोजना संयोजक जगदीशप्रसाद चौधरीले जानकारी दिनुभयो । (रासस)