Admission Open

ad place

काठमाडौंका दुई विद्यालयमा बालबालिका र वातावरण (बाबा) परियोजना सम्पन्न

काठमाडौं, १३ फागुन : काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलोपमेन्ट (सिआईयुडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा काठमाडौंका दुई सामुदायिक विद्यालयहरूमा ‘बालबालिका र वातावरण (बाबा)’ परियोजना सफलतापूर्वक सम्पन्न भएको छ । यस परियोजनाको समापनको अवसरमा दुवै विद्यालयमा मटेरियल रिकभरी सुविधाहरू (एमआरएफ) पनि हस्तान्तरण गरिएको थियो । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका सिटी प्लानिङ कमिसनका शिक्षा विशेषज्ञ शैलेन्द्र झा तथा वडाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

२०२४ को जुन महिनामा सुरू गरिएको यस परियोजनाको उद्देश्य विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका ज्ञान प्रदान गर्नुका साथै वातावरणीय विषयहरूमा शिक्षित गराउनु रहेको छ । यसले फोहोर व्यवस्थापन, स्रोतमै वर्गीकरण, पुनः प्रयोग र रिसाइक्लिङ जस्ता अभ्यासहरूलाई प्रवद्र्धन गरेको छ । साथै, यस कार्यक्रम अन्तर्गत स्वच्छता र शहरी पानी व्यवस्थापनसम्बन्धी गतिविधिहरू पनि समेटिएका छन् । उक्त परियोजना काठमाडौं महानगरपालिकाको वडा नं. २२ स्थित हिमालय माध्यमिक विद्यालय, न्युरोड, र वडा नं. १२ स्थित श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, टेकुमा लागू गरिएको थियो ।

समापन समारोहमा विद्यार्थीहरूले कार्यक्रममा उपस्थित महानुभावहरुलाई विद्यालयका एमआरएफको भ्रमण गराउँदै नवप्रवर्तनशील फोहोर न्यूनीकरण प्रणाली, स्रोत वर्गीकरण र छुट्टै संकलन प्रणालीबारे जानकारी गराएका थिए । विद्यार्थीहरूले यस सुविधाको प्रयोगबाट रिसाइक्लेबल सामग्री संकलन गरी बिक्री गर्ने योजना बनाएका छन् । संकलनबाट प्राप्त आम्दानी भविष्यका बालबालिका र वातावरण (बाबा) उपसमूहका विद्यालय गतिविधिहरूमा लगानी गरिनेछ । साथै, संकलित र बिक्री गरिएका सबै फोहोरको अभिलेख राखी कार्यक्रमको प्रभाव मूल्यांकन पनि गरिनेछ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विद्यार्थी, विद्यालय व्यवस्थापन तथा परियोजना सञ्चालन टोलीलाई बधाई दिँदै विद्यालय–आधारित वातावरणीय शिक्षा कार्यक्रम बालबालिका र वातावरणलाई सफलतापूर्वक सञ्चालन गरेकोमा कोका–कोला बेभरेज नेपाल र सिआईयुडीलाई धन्यवाद व्यक्त गरेकी थिइन् । साथै, उनले यस्तो नयाँ शैक्षिक दृष्टिकोणले विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सिक्न मद्दत गर्ने पनि बताएकी थिइन् ।

केएमसी सिटी प्लानिङ कमिसनका शिक्षा विज्ञ शैलेन्द्र झाले बाबा उपसमूह र एमआरएफले विद्यार्थीहरूलाई फोहोर व्यवस्थापनको सही तरिका सिकाएको बताएका छन् । अब उनीहरूले बेकार ठानेका वस्तुहरू संकलन गरी आम्दानीसमेत आर्जन गर्न सक्ने भएका छन् ।

काठमाडौं महानगर, वडा नं. १२ का अध्यक्ष श्री बालकृष्ण महर्जनले यस पहलप्रति खुसी व्यक्त गर्दै भने, “यो कार्यक्रम निकै प्रभावशाली छ । विद्यार्थीहरूले नै यसलाई अगाडि बढाएको देख्दा गर्व लागेको छ र मैले मेरो वडाभरि नै घर–घरमा फोहोर वर्गीकरण अभियान सुरु गर्ने सोच बनाएको छु ।” उनले विद्यालय व्यवस्थापन, शिक्षक, र सिआईयुडीलाई धन्यवाद समेत दिएका थिए ।
सिआईयुडीका कार्यकारी निर्देशक नवीन विकास महर्जनले विद्यालयमा सिकेका कुराहरू विद्यार्थीहरूले आफ्ना घर–परिवारमा लागू गर्ने भन्दै स्वच्छता र फोहोरको मूल्य बुझ्ने क्षमता उनीहरूमा विकास भएको बताएका थिए ।

कोका–कोला बेभरेज नेपालकी कम्युनिकेसन तथा सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठले आफ्नो विचार राख्दै भनिन्, “हामी साझा उज्जवल भविष्यमा विश्वास गर्छौं । बाबा परियोजनाले बालबालिकालाई वातावरणीय दिगोपनको ज्ञान प्रदान गर्दै उनीहरूमा दिगो वातावरणको सोच स्थापित गर्न मद्दत गर्नेछ । काठमाडौं महानगरपालिकाको ‘बुक–फ्री फ्राइडे’ अभियानको हिस्सा बन्न पाउँदा हामी गौरवान्वित छौं र यसलाई सफल बनाउन सहयोग पु¥याएकोमा सिआईयुडी प्रति हामी आभारी छौं ।”

हिमालयन माध्यमिक विद्यालयका अध्यक्ष ई. डिल्लीरत्न शाक्यले सिआइयुडी र कोका–कोला बेभरेज नेपाललाई सहयोग र पहलका लागि धन्यवाद दिएका थिए । साथै, विद्यालय भ्रमण गरी टिमलाई हौसला प्रदान गरेकोमा उनले उपमेयर डंगोलको पनि प्रशंसा गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...