काठमाडौँ, ९ साउन : काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।
दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् ।
पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ । रासस