- निर्मल आचार्य
तिमीलाई स्वागत छ
मेरो गाउँमा
नभएर के भो त आधुनिक चुलो
पूरानो ओदान छ, हजुरबाले जोडेको
नभए पनि आधुनिक राईसकुकर
पित्ले तसला छ, आमाले जोगाएर राखेको
नभए पनि ग्याँसको सिलिन्डर
सुकेका छन् सालका अग्राखहरु
जोडौँला तिनै ठूटाहरु र जोरौला आगो अँगेनामा
पकाउँला मिठा मसिनु र भरौँला पेट ।
मेरा लागि किन्नु पर्दैन तिमीले
नक्कली गुलाबको बुकी
बारीभरि फुलेका छन राता गुलाबहरु
माया देखाउन, पर्खनु पर्दैन भ्यालेन्टाईन डे
दिनहुँ, दिन सक्छ्यौ सक्कली गुलाबको फुल
नभए पनि डिस्को र डान्सबारहरु
संगिनी नाच्ने आँगन छ हाम्रो
पर्खनु पर्दैन कुनै गते, बार र समय
हरेकपल नाच्न सक्छौँ, गाउँन सक्छौँ र
हास्न सक्छौ निर्धक्क
मन साट्न, जानु पदैँन डेटिङ
मिलाउनु पर्दैन कुनै सेटिङ
आउ, मेरो गाउँमा
तिमीलाई हार्दिक स्वागत छ ।
- दिक्तेल रुपाकोट मझुवागढी- १ खोटाङ (हाल काठमाडौँ)