Admission Open

ad place

सेवाग्राहीलाई बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता, राष्ट्रिय परिचयपत्र बनाउन सास्ती

दमौली (तनहुँ) : तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुगिन । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन ।

बिहीबार घर फर्किएर आज बिहानै ६ बजे उहाँ पुनः प्रशासन कार्यालय आइन् । आज उनले बिहान १० बजे राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराइन् । उनी भन्छिन्, “राष्ट्रिय परिचयपत्रका लागि निकै दुःख रहेछ । दुई दिनमा बल्ल बल्ल पालो आएर काम भयो ।” सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि परिचयपत्र बनाउन आउँदा कार्यालयमा निकै भीड रहेको उनको भनाइ छ ।

व्यास नगरपालिका–९ माझफाँटकी मीठुमाया विकले दुई दिनको पालो कुरेपछि काम भएको बताइन् । “बिहीबार बिहानै ६ बजेदेखि आएर बसेँ, दिनभर बस्दा पालो आएन । आज फेरि बिहानै आएर बसेपछि पालो आयो र काम बन्यो” उनले भनिन् ।

म्याग्दे गाउँपालिका–१ गुणादी निवासी लक्ष्मी खनालले प्रशासन कार्यालयमा कर्मचारीको अभावमा जनतालाई सास्ती भएको बताउँछिन् । उनले दुःखेसो पोख्दै भनिन्, “यस्तो गर्मीमा पाउनु दुःख पाइयो । परिचयपत्र बनाउन आएको पालो आउँदैन । टन्टलापुर घामले टाउको दुखिसक्यो । बिहानैदेखि भोकभोकै छु ।”

आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने अनिवार्य गरिएपछि प्रशासन कार्यालयमा बिहानै ६ बजेदेखि भीड हुने गरेको छ । सोही भीडमा पालो कुर्दै गरेको अवस्थामा भेटिएकी उनले सहज रुपमा सेवा पाउने वातावरण बनाउन माग गरे । “सरकारले जनतालाई कसरी हुन्छ सहज रुपमा सेवा दिनुपर्छ । यसरी दुःख दिएर भएन” उनले भनिन् ।

व्यास –१४ का देवबहादुर आलेले आमाको राष्ट्रिय परिचयपत्र बनाउन बिहान ७ बजेदेखि लाइनमा बसेको बताए । “पहिला वडा कार्यालयमा दर्ता गरेको, त्यतिबेलाको नम्बर अझै आएन । त्यही भएर प्रशासनमै गएर दर्ता गर्नुपर्छ भनेर बिहानैदेखि बसेको पालो नै आउँदैन” उनले भने ।

यतिबेला राष्ट्रिय परिचयपत्र दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचो लागेको छ । जिल्ला प्रशासन कार्यालयमा हाल दुई वटा विवरण दर्ता स्टेसनमार्फत परिचय पत्रको फारम भरिँदै आएको छ । उक्त दुई वटा दर्ता स्टेसनको दैनिक क्षमता करिब एक सय जना रहेकामा केहीदिन यता राष्ट्रिय परिचयपत्रको लागि दैनिक चार सयसम्मको भीड लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

परिचयपत्र बनाउन ज्येष्ठ नागरिक बिहान ६/७ बजे नै जिल्ला प्रशासनमा लाइन लाग्न आइपुग्ने गरेको गौतमको भनाइ छ । सेवाग्राहीको अत्याधिक भीड बढेपछि कर्मचारीलाई अतिरिक्त भत्ता दिने गरी बिहान ७ देखि साँझ ७ बजेसम्म काममा लगाइएको प्रजिअ गौतमले बताए ।

“त्यति हुँदा पनि भीड थामिनसक्नुभएको छ । भीड बढेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशकसँग उपकरण सहितको थप तीनवटा दर्ता टोली थप गर्न अनुरोध गरेको छु” उनले भने । उपकरणसहित तीनवटा दर्ता टोली प्राप्त भएमा कर्मचारीको व्यवस्थापन गरी स्थानीय तहका वडाहरुमा नै राष्ट्रिय परिचयपत्रको फारम भर्ने व्यवस्था मिलाउन सकिने प्रजिअ गौतमको भनाइ छ ।

“८०/९० वर्षका बुबाआमा पनि दिनभरि लाइनमा बस्न बाध्य हुनुभयो । तीनवटा स्टेसन थप भएमा सम्बन्धित वडामा नै गएर फारम भर्ने व्यवस्था मिलाउन सकिन्थ्यो ।” परिचयपत्र बनाउन सेवाग्राहीको भीड बढेपछि जेठ महिना लागेपछि परिचयपत्र वितरण कार्य पनि रोकिएको छ । त्यहाँ रहेका कर्मचारीले फारम भर्न नै नभ्याउने भएको कारण हाललाई परिचयपत्र वितरण कार्य रोकिएको प्रजिअ गौतमले बताए ।

स्थानीय तहहरुले पनि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेका छन् । जिल्लाका स्थानीय तहले सूचना प्रकाशित गरी आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने नयाँ लाभग्राही तथा भत्ताको नवीकरण गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य भएको हुँदा राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेका लाभग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भर्न अनुरोध गरेको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...