– एडसन चाम्लिङ
खोला बाह्र वर्षपछि फर्कन्छ रे !
खोलालाई मेरो एउटा सुझाव छ
तिमी नफर्किनू।
किनकी
वर्षौँ अघि तिमीले पुर्याएको क्षति
कसैले बिर्सेका छैनन्।
तिमीले तिमीसँगै ल्याएको भेल, बाढी,पहिरो र डुबानको खत
अझै पुरिएको छैन।
वर्षैपिच्छे किनारबासीको गैरीखेत तिमीले सोहोरेर लगेको,
वर्खैपिच्छे घरगोठ बगाएर लगेको,
यामैपिच्छे सन्तानहरू निमोठेर लगेको,
अहँ, आजसम्म कसैले बिर्सेका छैनन्।
खोला त बाह्र वर्षपछि फर्कन्छ भन्थे
तर उ बेला तिमी त
दिनैपिच्छे,
महिनैपिच्छे,
वर्षैपिच्छे फर्कन्थ्यौ।
प्रत्येक पटक फर्कँदा
किनारबासीहरूको सर्वस्व लुटी
तिमी पूर्ण भएर फर्कन्थ्यौ।
गणतन्त्र नामक बाँधले तिमीलाई छेकेर
चैनको निन्द्रा लिन थालेको केहि समय नबित्त्दै
तिमी फेरि फर्कन खोच्दैछौ भन्ने सुनेर
किनारबासी फेरि त्रसित हुदैछन्।
अक्सर, खोला फर्कियोस् भन्ने चाहनेहरू
पहिले अग्लो भू-भागमा बस्थे
डाँडामा बस्थे
पहाडको शिरमा बस्थे
अहिले पनि उनीहरू त्यहीँ बस्छन्।
अहिले खोलाको किनारमा बस्नेहरूले
खोलाको त्रासबाट मुक्ति पाएर
विकास उन्मुख हुँदै गरेको देखेपछि
डाँडामा बस्नेहरूले सहन सकेनन् ।
उनीहरू अहिले खोला फर्काउन प्रयासरत छन्
कहिले धर्म नामक तलाउमा
हिंसारूपी पानी जमाएर,
तीव्र वेगमा छोडिदिन्छन्
कहिले वर्ग नामक वादल बिछ्याएर
विभेदरूपी झरी वर्षाउन खोज्छन्
कहिले जाति नामक हिमाल पगालेर
द्वन्दरूपी भेलबाढी उराल्न खोज्छन् ।
धन्न !
संघियता नामक मजबुत बाँधले
डाँडाबासीहरूको सबै षड्यन्त्रको प्रतिकार गर्दै
किनारबासीहरूलाई खोलाबाट सुरक्षा दिइरहेको छ।
ए डाँडाबासी हो !
तिमीहरूको यस्ता अतिवादी कर्तुतमा
अब पनि पूर्णविराम लगाएनौ भने
हेक्का रहोस्-
तिमी बस्ने पहाड र डाँडाको जग
त्यहि किनारमा छ, जहा किनारबासी छन् ।
र
प्राणको बाजी लगाएर भए पनि
त्यो जग भत्काउन सक्ने हिम्मत
किनारबासीमा छ।