Admission Open

ad place

एसियन गेम्सको लागि नेपाली बक्सिङ टोलीले भारतमा तयारी गर्ने

चीनको हाङझावमा हुने १९ औं एसियन गेम्स खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोलीले भारतमा तयारी गर्ने भएको छ ।

एसिएन गेम्सको तयारी तथा मैत्रीपूर्ण बक्सिङ प्रतियोगिताका लागि नेपाली बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।

खेलाडीहरुमा पुरुषतर्फ ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध ग्याम्जो लामा, ६३.५ केजीमा भुपेन्द्र थापा, ७१ केजीमा दिपेश लामा, ८० केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी रहेका छन् । यस्तै महिलाको ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगीता सुनार, ६६ केजीमा विनिता थापा मगर र ७५ केजीमा सरस्वती राना छन् ।

प्रशिक्षकमा शिव सिंह, दीपक महर्जन, प्रवीण तुलाधर र राज श्रेष्ठ तथा व्यवस्थापकमा श्यामकाजी अवाले रहेका छन् । खेलाडीले पञ्जाब इन्स्टिच्युसन अफ स्पोर्ट्स पटियालामा जुलाइ २७ देखि अगष्ट २७ तारिखसम्म प्रशिक्षणमा रहनुका साथै मैत्रीपूर्ण प्रतियोगितामा पनि सहभागी हुने नेपाल बक्सिङ संघले जनाएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य सचिव घिसिङले एसियाली खेलकुदको विगतको सफलतालाई वर्तमान खेलाडीले दोहोर्‍याउने विश्वास व्यक्त गर्दै बक्सिङलाई पदकको सम्भावना भएको खेलका रुपमा हेरिएको बताए ।

‘यस पटक बक्सिङसहित तीन खेललाई मुख्य प्राथमिकतामा राखेको र त्यसमा पनि बक्सिङलाई उच्च प्राथमिकतामा राखिएको छ’, सदस्य सचिव घिसिङले भने, ‘त्यसकै तयारी स्वरुप एउटा नयाँ मिसन लिएर नेपाली टोली भारत जाँदैछ । यो महत्वपूर्ण अवसर समेत हो ।’

यस्तै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङ खेलमा सदस्य सचिवले देखाएको विश्वासलाई वास्तविकतामा परिणत गर्न प्रयास गर्ने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...