काठमाडौँ, ७ माघ : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज पनि मौसममा सामान्य बदली छ । पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका विभिन्न भागमा बदली भएको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली भएको महाशाखाले बताएको छ । यसैगरी मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।