काठमाडौं, २४ पौष : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता तथा नेकपा एमाले प्रदेश १ का संसदीय दलका हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्कीले नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन पप्त गरेका थिए । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन दिएका छन् ।
प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार बजे हुने छ । मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने छन् ।