काठमाडौँ : बाँके जिल्ला भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ ।
विगत ४८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्व तयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउँछन् ।
अध्ययनअनुसार रुकुम क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका २१८ घर पूर्णरूपमा क्षति हुने आकलन गरिएको छ ।
पश्चिमको कुनै पनि क्षेत्रमा ८ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका ३ हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको परामर्शदाता बम बताउँछन् । उमपहानगरपालिकामा मात्रै ११ हजार ८०० बढी मानिस विपद्को जोखिममा रहेका बताइएको छ । यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र अशक्त पीडित हुनेछन् ।
भूकम्पको जोखिम न्युनीकरणका लागि उपमहानगरपालिका र आसपासका शहरी क्षेत्रमा भूकम्पीय विपद्को पूर्व तयारी तथा प्रतिकार्यका लागि स्थानीय तहलगायत सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिनुपर्ने उनी बताउँछन् ।
यसअघि शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले परियोजना अन्तर्गत नेपालगञ्जका संकटासन्न क्षेत्रको जीआईएस म्यापिङ गरेको थियो ।