काठमाडौं : नेपालको सहकारी क्षेत्रका एक अथक योद्धा के.बी.उप्रेतीको आत्मकथा लोकार्पण भएको छ । नेचुरल मिडिया प्रा.लि.र ग्रुप अफ वर्तमान मिडिया प्रा.लि.ले प्रकाशन गरेको के.बी.(कृष्ण बहादुर उप्रेती) आत्मकथामा उप्रेतीको जीवनी, विभिन्न क्षेत्रका अनुभव, अध्यययन, योगदान र विभिन्न व्यक्तिहरुले उप्रेतीका बारेमा दिएका विचारहरु समावेश गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष के.बी.उप्रेतीको आत्मकथा पुस्तकको पूर्वमन्त्री लिलामणी पोखरेल, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घलेले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
पत्रकार पुरुषोत्तम दाहालले आत्मकथाको समिक्षा गरेका थिए । उप्रेतीको आत्मकथामा इमान्दारिता देखिएको चर्चा गर्दै दाहालले पुस्तक सहकारीकर्मी र अन्य क्षेत्रमा लाग्नेहरुका लागि पनि प्रेरणा बन्न सक्ने बताए । मुखियाको परिवारमा जन्मेर पनि उप्रेतीले जीवनमा गरेका संघर्ष धेरैका लागि अनुकरणीय हुन सक्छन्, दाहालले भने, जीवनका विभिन्न क्षेत्रमा कसरी लागियो, कहा कस्तो संघर्ष भयो, विशेष गरी सहकारी क्षेत्रको योगदान, स्मरण र भूमिकालाई प्राथमिकता दिइएको छ ।’
पुस्तक लोकार्पण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री लिलामणी पोखरेलले उप्रेतीले सहकारी क्षेत्रमा खेलेको भूमिका आफुहरुलाई जानकारी भएको चर्चा गर्दै उनको आत्मकथाले नेपालको सहकारी अभियानलाई सही बाटोमा ल्याउन सहयोग पु¥याउनु पर्नेमा जोड दिए । नेपालको सहकारी अभियान सही बाटोमा अझै जान नसकेको बताउँदै पोखरेलले भने, ‘उप्रेती र उहाँजस्तै अभियानकर्मीहरुको सक्रियता र राजनीतिक दल र सरकारको सहयोगमा यसलाई विपन्न वर्गका जनताको सारथी बनाउन सबै लाग्नु पर्छ ।’
नेकपा एमालेका पोलिटव्यूरो सदस्य, सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कलम चौलागाईले सहकारी अभियानलाई सबैको साझा बनाउनका लागि केबी उप्रेतीको भूमिका प्रभावकारी रहेको आफुले पाएको बताए । व्यवसायिक रुपमा सबैलाई मिलाएर अभियानलाई अगाडि बढाउन उप्रेतीको भूमिकाका बारेमा सबैको सकारात्मक भावना पाएको भन्दै उनले सबै मिलेर सहकारी अभियानलाई जोगाउनु पर्नेमा जोड दिए ।
पुस्तको पहिलो खण्डमा उप्रेतीको व्यक्तिगत जीवनका बारेमा लेखिएको छ । गाउँबाट आएको कृष्ण काजी हुँदै एसएलसीमा सहभागी, स्ववियू सभापति देखि २ सन्तानको पितासम्म उल्लेख गरिएको छ । यही खण्डमा राजनीति देखि पत्रकारिता जोडिएको छ भने, दोस्रो खण्डमा सहकारी खण्ड भनेर २५ वटा विषय उल्लेख गरिएको छ । अन्तिम खण्डमा केबी उप्रेती पात्र एक, प्रसंग भन्दै केबी उप्रेतीका बारेमा २२ जना सहकारी अगुवाहरुका धारणा समेटिएको छ ।