काठमाडौं, २५ मंसिर : अँग्रेजी नयाँ वर्ष २०२३ को पूर्व सन्ध्यामा नेपाली फेशन र मोडलिङ क्षेत्रको प्रवर्धनको लागि ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ आयोजना हुने भएको छ ।
टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड काठमाडौंको सोल्टीमोड स्थित हायात प्लेसमा गरिँदैछ ।
अवार्डको आयोजना आगामी १४ पुसमा हुने आयोजक एवम् मोडल दिक्पाल कार्कीले बताएका छन् । यस पटक मोडलिङ तर्फ ४० विधामा र फेशन तर्फ ४० विधामा यो अवार्ड प्रदान गरिने आयोजक दिक्पालले बताए । उनका अनुसार ८० विधाकै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।
यसपटक बालबालिका, किशोर, किशोरी, युवा युवती र अग्रज क्याटागोरीमा मोडलहरुको प्रतिस्पर्धा रहेको अर्का आयोजक राजन बुढाथोकीले बताएका छन् । उनका अनुसार बेस्ट मोडल, पपुलर मोडल, पेजेन्ट मोडल, मोफसलका मोडल, विज्ञापन मोडल, म्युजिक भिडियो मोडल, नव मोडल जस्ता विभिन्न विधामा प्रतिस्पर्धा रहेको छ ।
यस्तै फेशन तर्फ ४० विधामा यसपटक प्रतिस्पर्धा हुँदैछ । जस अन्तर्गत फेशन कोरियोग्राफर, पेजेन्ट कोरियोग्राफर, मोफसल कोरियोग्राफर, इभेन्ट आयोजक, पेजेन्ट आयोजक, मेकअप आर्टिस्ट, हेयर स्टाईलिस्ट, फेशन डिजाईनर, सेलिब्रेटी फेशन डिजाईनर जस्ता विविध विधामा मनोनयन सार्वजनिक गरिएको छ ।
बिगत आधा दशकदेखि आयोजना हुँदै आएको यो अवार्ड कोरोना महामारीका कारण एक वर्ष रोकिएको थियो । गत वर्षबाट फेरी यो अवार्डलाई आफुले निरन्तरता दिएको अर्का आयोजक तथा अभिनेता यसराज गराचले बताएका छन् । यो चौथो अवार्डलाई यसपटक भव्य तुल्याउन पाँच तारे होटल नै रोजेको पनि उनले बताए । अवार्ड समारोहमा सम्बन्धि विधाका अग्रज व्यक्तिहरुलाई सम्मान पनि गरिने आयोजक यसराजले जानकारी गराए ।
