काठमाडौं : नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वल्र्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज हस्ताक्षर गरेका छन् ।
कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्त ब्राण्ड एम्बेसडरद्वयमार्फत सम्पूर्ण नेपालीहरुका साथै विशेषत नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रबन्ध निर्देशक पौडेलले यो सहकार्यको शुरुवात मात्र भएकाले भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने बताए । कार्यक्रममा खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग पुनः आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए ।