काठमाडौं, १५ कात्तिक : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारिएको नेकपा एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् ।
एमालेले ‘समृद्व नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
केपी ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । घोषणापत्र निर्माणअघि सामाजिक सञ्जाल, टेलिफोनलगायतका सञ्चारमाध्यमबाट विभिन्न विषयवस्तुमाथि सुझाव संकलनसमेत गरिएको थियो ।