काठमाडौं : साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) २.७६ अंकले घटेको छ । बजारमा झिनु करेक्सनले नेप्से दुई हजार एक सय ९३ दशमलव ४८ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो सोमबार चार अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय १७ वटा कम्पनीका ७८ लाख १३ हजार कित्ता सेयरको कारोबार हुँदा ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ ।
आज बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको सेयर घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको सेयर भने सामान्य बढेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भयो । आज विन्ध्यवासिनी हाइड्रो, साम्लिङ पावर र हिमाल दोलखा जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ भने राष्ट्र उत्थान लघुवित्तको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।