काठमाडौं, ९ साउन : मौद्रिक नीतिले सेयर बजार लगानीकर्तामा उत्साह देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति पछि लगानीकर्तामा उत्साह देखिएको हो ।
सेयर कारोबारको पहिलो दिन ६१.०५ अंकले बढेको नेप्से कारोबारको दोस्रो दिन आज ५४.४५ अंकले बढेको छ । आज सेयर बजार परिसूचक नेप्सेले २१ सय ३२ अंक नाघेको छ। नेप्से ५४.४५ अंकले बढेसँगै आज कारोबार रकम पनि उल्लेख्य बढेको छ।
आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा आज (सोमबार) चार अर्ब १० करोड ६८ लाखको कारोबार भएको छ । आज कुल दुई सय १४ वटा कम्पनीका ९९ लाख ४४ हजार कित्ता सेयर किनबेच भएका छन् ।
आज सबै समूहको सेयर बढेकोमा फाइनान्स, माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको सेयर उच्च अंकले उकालो लागेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २९ लाख र अरुण काबेली जलविद्युतको १४ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स, समृद्धि फाइनान्स, सूर्योदय वमी लघुवित्त, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मर्दी हाइड्रो र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।
आज विभिन्न १२ कम्पनीको सेयर मूल्य भने घटेको छ । आज सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको ऋणपत्र ५.८७ प्रतिशतले घटेको छ ।