काठमाडौं : लगातार ओरालो लाग्दै आएको सेयर बजार परिसूचक (नेप्से) मा आज भने सामान्य सुधार आएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट पछि जम्मा दुईपटक सेयर बजार बढेको छ, बाँकी सबै दिन नेप्से ओरालो लाग्यो ।
यसअघि जेठ २५ गते ६० अंले बढेको सेयर बजार परिसूचक नेप्से त्यसपछि कारोबार भएका पाँच दिनसम्म लगातार ओरालो लागेको थियो । नेप्से आज १२ दशमलव ५७ अंकले बढेर एक हजार नौ सय ७८ दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । बुधबार करिब डेढ अर्बको कारोबार भएको बजारमा आज एक अर्ब १८ करोड ७१ लाखको कारोबार भएको छ । आज बजारमा नेपाल दुरसञ्चार कम्पनीको १३ करोड ८९ लाखको कारोबार हुँदा एनसीसी बैंकको १० करोड ३५ लाख र सिभिल बैंकको ४ करोड ७१ लाखको कारोबार भएको छ । आज दिनभर बजारमा १९३ कम्पनीको सेयर कारोबार हुँदा १३७ कमपनीको सेयर मूल्य बढेको छ ।
त्यस्तै ४५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ११ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । आज कारोबार भएकामध्ये आँधिखोला लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको रिभर्स फल्स हाइड्रोपावरको सेयरमुल्य ९.९७ प्रतिशत र सामुदायीक लघुवित्तको सेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।