Admission Open

ad place

मुटु तथा फोक्सो रोग विशेषज्ञ चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं : देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञहरूको अनुभव आदान–प्रदानसँगै नयाँ प्रविधिका बारेमा समेत विशेष छलफल गरिएको कार्यक्रम संयोजक एवं समाजका महासचिव डा शङ्कर लौडारीले जानकारी दिए ।

सम्मेलनमा विश्व र नेपालमा मुटुरोगको अवस्था, रोगका कारण, विश्वमा रोग पत्ता लगाउन र उपचारमा नवीनतम प्रविधि, मुटुरोगबाट बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा छलफल भएको उनले जानकारी दिए ।

समाजका अध्यक्ष प्रा डा मणिप्रसाद गौतमले अहिले नेपालमा मुटु तथा फोक्सो रोगसम्बन्धी विशेषज्ञ चिकित्सक दिन प्रतिदिन थपिँदै गएको भन्दै नयाँ-नयाँ प्रविधिका बारेमा अनुभव आदान-प्रदानको माध्यमबाट थप प्रभावकारी उपचारमा यो सम्मेलन फलदायी भएको बताए ।

वंशाणुगत, अस्वस्थकर खानपान र जीवनशैलीका कारण नेपाललगायत विश्वभर दिन प्रतिदिन मुटुका बिरामी बढ्नुका साथै कयौँले अकालमा मृत्युवरण गरिरहेको सो अवसरमा बताइएको थियो ।

हृदयघात विश्वमा मृत्युको मुख्य कारणमध्ये एक हो । जसलाई पनि, जतिबेला पनि हृदयघात भन्दै मुटुरोगी यसको सबैभन्दा बढी जोखिममा हुने बताइएको छ ।

सम्मेलनमा मुटु तथा फोक्सो रोगसम्बन्धी २६ वटा वैज्ञानिक शोधपत्र प्रस्तुत गरिएको थियो । शोधपत्रमार्फत चिकित्सकले मुटु तथा फोक्सोसम्बन्धी विभिन्न रोग, त्यसको निदान तथा उपचार विधिबारे जानकारी दिइएको थियो ।

राज्यलाई पनि प्रस्तुत वैज्ञानिक शोधपत्रले नेपालमा मुटुरोगको अवस्था, समस्या र प्रविधिबारे जानकारी मिल्ने समाजका उपाध्यक्ष डा सुधीर रेग्मीले बताए ।

कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नमाथि विशेष छलफल गरिएको थियो । कार्यक्रममा मुटुरोग विशेषज्ञ, मुटु शल्य चिकित्सक, फोक्सोरोग विशेषज्ञ, भास्कुलर सर्जन, फिजिसियन, नर्स, प्यारामेडिक्सलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्डियाक सोसाइटीका अध्यक्ष प्रा डा विजय राजवंशी, सिमोनका अध्यक्ष प्रा डा अरुण मास्के, प्रा डा दिवाकर शर्मा, प्रा डा रोशन राउत, डा श्यामराज रेग्मीलगायतका मुटुरोग विशेषज्ञहरूको सहभागिता थियो ।

सो अवसरमा वैज्ञानिक शोधपत्र प्रस्तुत गर्ने चिकित्सक एवं अन्य चिकित्सकहरूलाई सम्मान पनि गरिएको थियो । समाजले पहिलोपटक यो सम्मेलनको आयोजना गरेको बताइएको छ ।

टिप्पणिहरु
Loading...