… के गर्छन् होेला हजुरबालाई यतिका मान्छे भएर । म अचम्ममा परेको थिएँ । हजुरबाको लाशसँगै गुरूरू मलामीहररू हिँडे ।
म पनि पछिपछि लागेँ…
क्रमश…
[ चार ]
घरमा सबै रुवाबासी गर्न लागेकोले मलाई कसैले रोकेन ।
म शङखको एकोहोरो आवाजको पछिपछि गएँ ।
जङ्गलै जङ्गलको बाटो, ओरालै ओरालो । सल्लीपिर र सुकेका पत्करमा चिप्लिएर म छ, सात पटक लडेँ । दुईठाउँ लड्दा त बेस्सरी घुँडा दधारियो । पाइजामा नै दुलो प¥यो । लाश बोकेका मान्छेहरू कहाँ पुगे कहाँ । मात्रै शङ्ख बजेको आवाज सुनेर म पछिपछि दगुरीरहेँ । एकदुईजना मान्छे मेरो पछि थिए । उनीहरू भन्दै थिए । गाउँको ज्यादै भलादमी र असल मान्छे अकालमै गयो । त्यस घरको मियो उखेलियो । अगाडि भन्दै थिए । तर साह्रै राम्रो मरन । न कसैले स्याहार सुसार गर्नु प¥यो, न गुहुमुत गर्नु प¥यो । काम गर्दा गर्दै एकैछिनमा चोला उठ्यो ।
म घाटमा पुग्दा हजुरबालाई खोलाको पानीमा खुट्टा डुबाएर ठाडो पारेर राखेको देखेँ । वरिपरी केही मलामी गएका बुढापाकाहरू टाक्राकटुक्रुक बसेका थिए । म पनि अलि परतिर ढुङ्गामाथि बसेँ र हजुरबालाई नै टुलुटुलु हेरिरहेँ ।
गाउँबाट झरेका मलामी आधा पनि थिएनन् । कहाँ गए होला ! मलाई आश्चर्य लागिरहेको थियो । केहीछिनमै जङ्गलतिरबाट सुकेका दाउरा र मुढाहरू बोकेर झरे । दाउराको माच बनाए । चिता रहेछ । हजुरबालाई त्यसमाथि राखे । हजुरबाले लगाएका सबै कपडा खोले । भेला भएका सबै मलामीले खोलाको पानी अन्जुलीले उघाउँदै हजुरबाको मुखमा हालिदिए । एकजनाले मलाई पनि त्यसै गर्न लगाए । मैले पनि एक अन्जुली पानी हजुरबाको मुखमा हालिदिएँ र एकपटक हजुरबाको मुख हेरेँ । हजुरबाले मुख आँऽऽ गरिरहनु भएको थियो ।
मलाई लाग्यो यति पानी खाएपछि हजुरबा ब्युँभे पनि हुने नि, उठे पनि हुने नि ।
फेरि त्यसमाथि केही दाउरा र तुलसीका सुकेका झ्याँक्रा थुपारे ।
त्यसपछि बाजेले बात्ती सल्काएर बुबाको हातमा दिए । बुबाले त्यो बात्ती हजुरबाको मुखमा राखिदिनु भो ।
म बेस्सरी चिच्याएर रोएँ । हजुरबालाई पोल्यो भन्ने लागेर ।
हेर्दाहेर्दै हजुरबाको शरीरमाथि दनदनी आगो बल्न थाल्यो । बुबा र एकदुईजना मलामीबाहेक सबै दर्गदिसा लागे । कोही नुहाउन थाले, कोही पौडी खेल्न थाले । हेर्दाहेर्दै त्यत्रो दाउराको राससँगै हजुरबाको शरीर खरानी भयो । अलिअलि बाँकी रहेको खरानी पनि सबैले पानी छेपेर बगाए ।
त्यसपछि सबैजना उकालो लागे ।
पछिपछि म पनि हिडेँ ।
भोकले लखतरान भएर घर पुग्दा घरमा पनि खानेकुराको कुनै व्यवस्था थिएन । सबै आआफ्नै धुनमा केके केके गर्थे ।
म भोकले रन्थनिएको थिएँ । यताउता हेरेँ आफ्नो उमेरका कोही छन कि भनेर, मास्तिर डिलमा महेन्द्र उभिएको रहेछ । उसैले इशारा ग¥यो । म उसको छेउमा गएँ । उसले गोजीमा पोलेका सुठुनी बोकेको रहेछ । गोजीबाट झिकेर दुईतीनवटा दियो । मैले कपाकप सुठुनी खाएँ । भोक अझै मरेन । मलाई गोठतिर जाउँजाउँ लाग्यो । मैले महेन्द्रलाई हाम्रो गोठ जाउँ भने उसले नाईनास्ती केही गरेन । हामी दौडँदै गोठतिर झ¥यौँ । गोठमुन्तिर ठूलो पोथीखनिउँको रुख थियो । खनिउँको फेदमा रातै खनिउँ पाकेका रहेछन् । हामीले पाकेका खनिउँ टिप्दै कट्टुमा पुछ्दै खाँदै ग¥यौँ । पाकेका सकिएपछि पनि मेरो भोक शान्त भएन । महेन्द्र भने खान छोडेको थियो । उसले कट्मिरा खनिउँ टिप्दै अलिअलि पाकेको छ खाऊ भन्दै दिँदै ग¥यो । मैले पनि चपाउँदै निल्दै गरेँ । जिब्रो बाक्लो भएर आयो । कट्मिरा खनिउँ घाँटीमा अड्किन थालेपछि खान छोडेँ ।
हामी गोठमा निस्कियौँ । गोठमा हामी सुत्ने ओछ्यान लथालिङ्ग थियो । हजुरबाले पढ्ने गरेका देवीभागवत, रामायण, चण्डी, दुर्गा कवच, मालश्री लगायतका किताबहरु थिए । मैले सबै किताबहरु एकएक गर्दै सबै उठाएर हेरेँ र फेरि त्यहिँ हार लगाएर मिलाएर राखेँ । पेटबाट अमिलो पानी हुँडलिएर मुखमा आयो । वाकवाकी लाग्ला जस्तो भयो । महेन्द्रले डराउँदै भन्यो, घर जाउँ अव ।
साँझमा भूतले तर्साउँछ । अब त हजुरबा भूत बनिसक्नु भो ।
महेन्द्रले त्यसो भन्दा मैले हजुरबालाई सम्झेँ हजुरबालाई सम्झनासाथ थुरथुर काम छुट्यो । म पहिलोपल्ट हजुरबासँग त्यसरी डराएँ । हामी मूलबाटो नभई बारीको छेउछेउबाट घरतिर लाग्यौँ । आधाबाटो नपुग्दै मलाई बान्ता हुन थाल्यो । पखाला पनि लाग्यो । बल्लतल्ल म घर पुगेँ । घर पुगेर महेन्द्र एकछिन मात्र बस्यो । घरको एक कुनामा चित्राले बारेर बुबा सुत्ने ठाउँ बनाएको रहेछ मैले चित्रो समाएर एस्सो भित्र चियाएको मात्र के थिएँ । एकजना हजुरबा पर्नेले बेस्सरी हप्काए, पाखुरामा समाएर हुत्याए । म निकै परसम्म हुत्तिएँ । उनले अझ मतिर नजिकिएर भने, अव तेह्रदिनसम्म यो चित्रो पनि छुनुहुन्न अनि बुबाआमा कसैलाई पनि छुनु हुन्न । उहाँले त्यसो भन्दा म ट्वाल्ल परेर बसेँ ।
अलि साँझ परेपछि महेन्द्र म जान्छु है भनेर हिँड्यो ।
हजुरबा बितेको तह्रौँ दिनमा हजुरबाले पढ्ने गरेका सबै किताबहरू समेत बाजेलाई दान गरेको देखेर मलाई ज्यादै नमिठो लाग्यो । खोसेर राखौँ जस्तो भयो तर सकिन । तिनै किताब हेरेर नै मैले अक्षर चिनेको थिएँ, पढ्न जानेको थिएँ । मलाई श्रीमद् देवीभागवत्, रामायण र मालश्रीका धेरै श्लोकहरू कन्ठै थिए । देवीभागवतमा भएको राजा हरिष्चन्द्रको कथा र काल महिमा त म नहेरी सबै भन्न सक्थेँ ।
मोटो छालाको जिल्ला भएको देवीभागवत् पुरेतबाजेलाई दान दिँदा मेरा आँखाबाट आँसु नै खसे । मेरा आँखाबाट आँसु बगेको देखेर धेरैले मलाई नियालेका रहेछन् । गाउँका एकजना काका पर्नेले मेरो छेउमा आएर मलाई च्याप्प समाए र कानमा फुस्फुसाए, नरो बाबु परलोकमा गईसकेका हजुरबालाई सम्झेर यसरी रुनु हुन्न । आज हजुरबाको आत्माले मुक्ति पावस भनेर तह्रोँ दिनको पुण्यकर्म गरेको हो । यस दिन त खुसी पो हुनुपर्छ त । आजबाट हजुरबाको काम सकियो । अव हजुरबालाई कहिलेकाहीँ तिथिश्राद्धमा सम्झने मात्र हो । यसरी विलाप गर्नु हुन्न । तिमी हामीले आकाशमा देखेका हजारौँ ताराजस्तै हजुरबा पनि अव एक तारा हुनु भो । हरेक दिन सगरबाट हजुरबा हामीलाई हेरिरहनु हुन्छ । हामीले राम्रो काम गरे हजुरबा खुसी हुनुहुन्छ । हामीले नराम्रो काम गरे हजुरबा सपनामै भएपनि आएर गाली गर्नु हुन्छ, रिसाउनु हुन्छ त्यसैले हामीले कहिले पनि नराम्रो काम गर्नुहुन्न । अव नरोउ है । यति भनेर उनी गए ।
मलाई लाग्यो म बेखुसी भएको पनि त हजुरबाले पक्कै हेरिरहनु भएको होला नि । हजुरबाले पढ्ने गरेका ती किताव मैले पढ्दा हजुरबा कति खुसी हुनुहुन्थ्यो होला । मैले ती बितावहरू जतन गरेर आफ्नै साथमा राख्न पाएको भए हजुरबा सधैँ मेरै साथमा भएजस्तो हुन्थ्यो मलाई तर के गर्नु दिनेले दिई सके, लिनेले लिई सके । अव त हजुरबाजस्तै ती कितावहरू पनि केवल सम्झनामा मात्रै हुने भए । पुरेत बाजेले लगेर कहाँ थुपार्दा हुन ती किताव ।
मेरो मनमा त्यस्तै कुरा खेल्दै थिए ।
तेह्रौँदिनको काम लगभग सकिएर होला जग्गेमा राखेका पैसा एकजनाले भेला पार्न थाले, धान चामल पनि उठाउँन थाले । दान गरेका भाँडाकुँडा, लत्ताकपडा लगायतका सामानहरू पनि पोकापार्न थाले । किताबको चाँङ छेउमा थियो । ती किताब कहाँ राख्छन्होला म उत्सुकतापूर्वक हेरिरहेको थिएँ । धेरैबेरसम्म ती किताबहरू कुनै पोकोमा परेका थिएनन् । ती किताबहरू त्यहिँ छोडे पनि हुन्थ्यो भन्ने लागिरहेको थियो । पोकाहरू बाँध्दै साईड लगाउँदै जाँदा पुरेतबाजेका सहयोगीले ती किताबहरू एउटा पोकोको माथिपट्टि राखेर बाँधे । अव ती पोकाहरू कहाँ राख्छन्होला मेरो उत्सुकता अझै ज्युँदै थियो । किताबको मायाँले मेरो मन पाकिरहेको थियो ।
आएका धेरै मानिसहरू पितृप्रसाद खाईरहेका थिए । सबै सामानको पोको घरमाथ्लापटी बलेँसीको छेउमा थुपारेर पुरेतबाजेहरूको समूह पनि पुरेत्नीबजैले बनाएको भान्सातिर लागे । म भने घर तल्लापट्टिबाट एकफन्को घर घुमेर पुरेतबाजेले थुपारेका पोकाहरूतिर लागेँ । पोकाको नजिक पुगेपछि लगलगी खुट्टा काँमे । मन भारी भयो । पोकाहरू पालैसँग नियालेँ । किताब बाँधेको पोको एउटा अर्को पोकोले थिचेको रहेछ ठम्याएँ । फेरि हातखुट्टा अगलग कामेँ । निधारमा चिटचिट पसिना आए । नाकबाट तुरुक्क सिँगान चुहियो । कमिजको बाहुलाले पुछ्नु अगाडि भुईँमै खस्यो । मैले सुरक्क हात अगाडि बढाएँ । सिरानको पोको यस्सो छोएको मात्र थिएँ, आर्कातिरको पोको चिप्लिएर अगाडि आँगनतिर गुल्टियो । मेरो सातोपुत्लो गयो । सिकुवाको खाटमा बसिरहेका एकजना हजुरबा पर्नेले देखेछन् दौडिएर आए र पोको उठाए । पोको राख्न खोज्दा मलाई देखे । म निलोकालो भएँ । उनले भने, के गर्छस् ए नाति ? उनले त्यसो भन्दा मेरो मुखमा एक्कासी उत्तर आयो ‘बिरालो खाँदै थियो’ ।
उनले यता आईज भने, म उता गएँ ।
घरको पल्लो सुरमा पुगेर पछाडि हेरेँ । कोही थिएन फेरि फर्किएँ र सरासर किताब भएको पोको खोलेर स्वाट्ट देवीभागवत् झिकेँ । हत्तपत्त कमिज उचालेर पेटतिर घुसारेँ र दौडिएँ गोठतिर …
क्रमश…
यस भन्दा अघिका आख्यान अंश
वाक्य रुद्रघण्टीसम्म आएर रोकियो