एकछिन थामिएर लामो सास तान्दै उनले बिस्तारै भने, हजुरबा बितेसँगै त्यो सारा रौनक पनि सकियो ।
त्यसपछि … ???
क्रमश…
[ तीन ]
… हजुरबा हुन्जेल हाम्रो गोठमा वर्षमा कम्तिमा पनि दशमाउ भैँसीको साटफेर हुन्थ्यो । भैँसीको साटफेर गरेर नाफा निकाल्न हजुरबा एकदम खप्पिस हुनुहुन्थ्यो। हाम्रो घरमा गोरसको खोलै बग्थ्यो । गाउँभरिका मान्छेहरू दहि, दूध माग्न र किन्न लर्को लागेर आउँथे । धापिएर उकालो बाटो हिँडिरहेका बटुवाहरूलाईसमेत गोठमा बोलाएर मोही खान दिनुहुन्थ्योे । त्यसरी मोही खाएर गएका मानिसहरू बेलुका फर्कँदा हजुरबालाई नरिवल, मिश्री लगायतका कोसेली लिएर आउँथे । यसरी कोसेली लिएर आउनेलाई हजुरबा पूनः मही वा दही खान दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो,’अव यसरी कोेसेली लिएर नआउनु मैले कोसेलीका लागि खुवाएको हैन’ । कोहीकोही पूरानो चिनजानका मानिसहरू हाट भर्न जाँदा सागपात, आलु वा अन्य फलफूल ल्याई दिन्थे र मोही मागेर खान्थे ।
हाम्रो गोठबाटै चौथाईका चौथाई घिउ बिक्री हुन्न्थ्यो ।
हजुरबाको त्यही मिहिनेत नै हाम्रो परिवारको आम्दानीको मुख्ये स्रोत थियो ।
त्यति भनेपछि उनी एकछिन रोकिए ।
मैले फेरि झस्काएँ ।
त्यसपछि के भयो ?
उनको अनुहारमा थुप्रै मुजा परे, दुबैपटी गाला भित्र पसे । निधारमा तिनचार मुजा परे । बल गरेर बोल्न खोजे, बोल्न खोज्दा उनका ओठ थरर्र कामे । गहमा आँसु भरियो । आँखाका चेपचेपबाट पँहेला डल्ला निस्किए । उनले स्टकोटको दाहिने खल्तीबाट एउटा टालो निकालेर आँखा पुछे । लामो सास ताने । केही भन्न खोज्दा फेरि उनको गला अवरुद्ध भो ।
उनको त्यो अवयव देखेर म पनि केही भावुक भएँछु । मेरा पनि आँखा रसाए । म पनि आफ्नो बाल्यकालको पूर्वस्मृतिमा हराएँछु । सायद कतै उस्तै कहानी मिल्न गयो मेरो स्मरणमा ।
उनले ख्वाकख्वाक गरेर खोके । पछाडि फर्किएर एकलत्को कालोमिसिएको पँहेलो खकार थुके । उठेर दुबै नाकबाट पालो गरिगरि स्याँस्याँ गरेर धुलोका काला डल्लासहितको सिँगान फाले र बसे ।
त्यसपछि के भयो ?
मलाई उनको कहानी सुन्न हतारो भईरहेको थियो त्यसैले मैले उनलाई रोकिनै दिइँन र भने, त्यसपछि के के भयो ? हजुरका बाँकी कुरा सुन्न म लालायित छु ।
सबैको जीवन यस्तैयस्तै आरोह अवरोहवीच चलेको हुन्छ । मेरो, हाम्रो र हामी सबैको जीवनमा पनि अनेकानेक घटना, परिघटना घटेका हुन्छन् । कतिले बोध गर्छन् । कतिलाई त्यो अवशर नै प्राप्त हुँदैन । कतिले दुखको अनुभव पनि गर्न पाएका हुदैनन् भने कतिलाई जीवनभर सुख कस्तो हुन्छ भन्नेसम्म पत्तो हुँदैन । दुखैदुखमा जीवन सकिन्छ र सुखैसुखमा पनि जिन्दगी चल्छ ।
मैले अलिकति भूमिका बाँधेर उनलाई मनदेखिको कुरा खोतल्न उकासेँ ।
उनले बिस्तारै कुरा शुरु गरे ।
म दशवर्ष पुग्दै थिएँ । एकदिन हजुरबा भैँसीको गोबर सोहोर्दै हुनुहुन्थ्यो । म पनि छेउछाउका घँसेटा टिप्दै फाल्दै थिएँ । एक्कासी हजुरबा छाती दुख्यो भनेर ओछ्यानमा जानु भो म पनि गएँ । हजुरबा मेरो काखमा घोप्टिनु भो । धेरैबेरसम्म उठ्दै उठ्नु भएन । थरथर काम्नु भो । गोठमा हजुरबा र म मात्रै थियौँ । मैले हजुरबालाई के भएको भन्ने बुझ्नै सकिन । एकछिनसम्म हजुरबा मेरै काखमा घ्याँरघ्याँर गर्दै घोप्टिइरहनु भो । त्यसपछि हातखुट्टा पूरै तन्काएर पल्टिनु भो अररो भएर ।
म चिच्याएँ, कराएँ ।
गोठ, घरबाट निकै टाढा भएकोले कसैले मेरो चिच्याहट सुनेन । हजुरबाको त्यहीँ चोला उठ्यो । हजुरबा केही चलमल नगरी बुँढो झैँ लडिरहनु भयो । म हजुरबालाई छोडेर कतै जान सकिन । घरिघरि घरतिर जान खोज्थेँ । अलि परसम्म पुग्थेँ । हजुरबा उठ्नुहुन्छ कि जस्तो लाग्थ्यो र फेरि फर्कन्थेँ ।
केही समयपछि आमा खोसेला र परालको भारी बोकेर झर्नु भो ।
आमालाई देख्ने बित्तिकै म आत्तिएर रोएँ ।
आमाऽऽ हर्नु न हजुरबालाई के भयो ?
हजुरबाको हालत देखेपछि आमा आत्तिँदै र रुँदै घरतिर लाग्नुभो । अलिमाथि पुरेर कराउनु भयो । एक दुई गर्दै गाउँभरिका मान्छे भेला भए । हजुरबालाई झाँगलझुँगल पारे । हजुरबा, काका, दाजु आदि-आदि साईनु लगाएर चिच्याए ।
जजसले जे जे भने पनि हजुरका मुढोझैँ जता फर्कायो त्यतै फर्किनु भो ।
…
हजुरबाको लाश तन्नाको झोली बनाएर घरमा लगे ।
गाउँभरिका मान्छे घरभरी भेला भए । कोही बाँस बोकेर, कोही दाउरा बोकेर, कसैले बन्चरा, खुकुरी आदि बोकेर आए । मलाई अनौठो लाग्यो । मैले आजसम्म कसैको लाश घाट लगेको देखेकै थिईन । के गर्छन् होेला हजुरबालाई यतिका मान्छे भएर । म अचम्ममा परेको थिएँ । हजुरबाको लाशसँगै गुरुरु मलामीहरु हिँडे ।
म पनि पछिपछि लागेँ घाटतिर…
क्रमश…