काठमाडौँ, माघ १३

२० औं आहारारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आर्मीलाई हराउँदै मनाङले फाइनलको यात्रा सुनिश्चित गरेको छ ।
त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो ।
बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । तर, उक्त समयावधिमा पनि कुनै टिमले गोल गर्न नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा आर्मीलाई ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो ।
पेनाल्टीमा आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेत गोल गरेका थिए । दीपक गुरुङको प्रहार पोलमा लाग्यो भने युद्ध शाहीको प्रहारलाई मनाङका गोलकिपरले विफल पारिदिएका थिए ।
मनाङका लागि शिव गुरुङ, फ्रान्कलिन टाला, रुपेश केसी र ओलावाले अफिजले गोल गरेका थिए। मनाङका विश्व अधिकारीको प्रहार भने पोलमा लागेको थियो।
खेलको ८औं मिनेटमा आर्मीका डिफेन्डर युद्ध शाहीको डिबक्स भित्रै ह्यान्ड भएपछि मनाङले पेनाल्टी मार्फत अग्रता लिने अवसर गुमाएको थियो। मनाङका विमल रानाले हानेको पेनाल्टी आकासिएको थियो।
अब मनाङले शनिबार विभागीय टिम एपीएफसँग उपाधिका लागि भिड्ने छ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।