काठमाडौँ, माघ ५

नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै च्याम्पियन बनेको हो। विजेता एपीएफले नगद पाँच लाखसँगै ट्रफी हात पारेको छ भने उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा १५८ रनको लक्ष्य पेस गरेको थियो । उसका लागी अमर रौतेलाले १५ बलमा २ चौका र ३ छक्का प्रहार गरेर सर्वाधिक २९ रन बनाए । त्यस्तै, कप्तान सरद भेषावकरले १९, भुवन कार्कीले १७, लोकेश बम २७ तथा सन्दीप जोराले २४ रनको योगदान दिएका थिए ।
१५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । पुलिसको लागी दीपेन्द्रले ५४ बलमा ३ चौका र २ छक्काको मदतमा ६५ रन, दीलपनाथले २३, आरिफ शेखले १२ र अनिलकुमार साहले १० रन बनाउँनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउँन सकेनन्।
एपीएफकाको लागी किशोर महतोले ३ तथा अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले समान १ – १ विकेट लिए ।
उता पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ३/३ विकेट लिए । त्यस्तै गुल्शन झाले २, तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान १-१ विकेट लिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफका विकेटकिपर ब्याट्सम्यान आसिफ शेख घोषित भए । उनले नगत रु. तिस हजार प्राप्त गरे ।
यस्तै नेपाल पुलिस क्लबका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले नगत रु. २० हजार प्राप्त गरे ।
लुम्बिनीका अनिल खरेल उत्कृष्ट बलर घोषित भए । उनले पनि नगत रु. २० हजार प्राप्त गरे ।