काठमाडौँ, ३० पुस
शुक्रबार बाट सुरु भएको शहीद स्मारक ए डिभिजन लिगको नौं चरणको खेलमा सातदोबाटो युथ क्लब र एपीएफले जित हात पारेका छन् ।
त्रिपुरेसोरस्थित दशरथ रंगशालमा भएको नौं चरणको पहिलो खेलमा एपीएफले हिमालयन शेर्पालाई १-० ले हराएको हो।
एपीएफको जितमा आवास लामिछानेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा कप्तान नविन लामाको कर्नरलाई हेडमार्फत गोल गरेका थिए ।
जितपछि एपीएफ ९ खेलबाट १० अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।
हिमालयन शेर्पा ९ खेलबाट ११ अंकसहित छैटौं स्थानमा यथावत छ ।
सातदोबाटोको जित
शुक्रबार नै भएको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गरेको हो ।
पहिलो हाफमै दुई गोलको अग्रता लिएको सतादोबाटोको लागी दुबै गोल विदेशी खेलाडीले गरेका थिए । खेलको ११ औं मिनेटमा मार्टिन सिलोले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा मार्टिन्स अजायीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
मनाङका लागि दोस्रो हाफमा ओलावाले आफिजले एक गोल फर्काएपनि खेल आफ्नो पक्षमा पार्न नसक्दा ३ अंक सातदोबाटोलाई प्राप्त भएको थियो ।
यो जितपछि ९ खेलबाट १२ अंक जोडेर सातदोबाटो छैठौं स्थानमा उक्लेको छ ।
उता उपाधिको होडमा रहेको मनाङलाई भने यो हारले धक्का लागेको छ । ९ खेलबाट १९ अंकसहित मनाङ दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको मछिन्द्र २० अंकसहित शीर्ष स्थानमा छ ।