काठमाडौँ, पुस
फिफाले ‘द बेस्ट फिफा पुरूष वर्ष खेलाडी’ अवार्डका लागि रोबर्ट लेवान्डोस्की, लियोनेल मेस्सी र मोहम्मद सलाहको नाम सार्वजनिक गरेको छ ।
फिफाले शुक्रबार बेस्ट फिफा अवार्डअन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधामा अन्तिम तीनमा पर्न सफल खेलाडी र प्रशिक्षकको सूची सार्वजनिक गरेको हो ।
आक्रमणकारी तीनलाई नोभेम्बरमा पुरस्कारको लागि छनोट सूचीमा नाम दिइएको थियो जसमा क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, नेयमार, एर्लिङ हालान्ड, केभिन डे ब्रुयन, करिम बेन्जेमा, जोर्गिन्हो र एनगोलो कान्टे पनि थिए।
उत्कृष्ट फिफा पुरुष प्रशिक्षक अवार्डका लागि अन्तिम तीनमा पेप गार्डियोला, रोबर्टो मानसिनी र थोमस टुचेल रहेका छन् । त्यस्तै, महिला प्रशिक्षकको लागी लुइस कोर्टेस, एम्मा हेस र सरिना विगम्यान फाइनलमा छन्।
२०२० को अवार्ड जितेका बायर्न म्युनिखलाका लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगामा ४१ पटक गोल गरेर गेर्ड मुलरको ४९ वर्षको कीर्तिमान एकै सिजनमा तोडेका थिए । उनले सबै प्रतियोगितामा ४८ गोल गरेर २०२१ को अन्त्य गरेका थिए ।
२०२१ को बालोन डी’ओर जित्ने मेस्सीले बार्सिलोनालाई कोपा डेल रे जित्न मद्दत गरे जुन क्लबमा उनको अन्तिम सिजन साबित भयो। त्यसपछि उनले अर्जेन्टिनालाई १९९३ पछि पहिलो पटक चार गोल र पाँच असिस्टसहित कोपा अमेरिकाको उपाधि जिताएका थिए ।
लिभरपुलका स्टार सालाहले २०२१ मा सबै प्रतियोगितामा ३७ गोल गरे, जुन अन्य प्रिमियर लिग खेलाडीभन्दा कम्तीमा १५ बढी हो।
फिफाले सबै अवार्डको विजेताको नाम यही जनवरी १७ मा घोषणा गर्ने जनाएको छ ।
बेस्ट फिफा अवार्ड राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, राष्ट्रिय टोलीले प्रतिनिधित्व गर्ने प्रत्येक क्षेत्रबाट चयन गरिएका पत्रकार र फिफाको वेबसाइटमा दर्ता भएका फ्यानहरू सम्मिलित अन्तर्राष्ट्रिय निर्णायक मण्डलले निर्णय गर्नेछन्।