काठमाडौँ, ११ पुस
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको पहिलो खेलमा संकटा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ३-० ले पराजित गरेको छ ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबका उत्तम राईले दुई तथा लक्षमण रुचालले एक गोल गरेसँगै ब्रिगेड ब्वाइज ३-० ले पराजित भएको हो ।
सुरुवात देखि नै दबाब बनाएको संकटाले १२औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि उत्तम राईले गोल गर्न सफल भए । २८औं मिनेटमा पुनः उत्तमले नै फोडे फोफनाको क्रसमा व्यक्तिगत दोस्रो गोल गरेपछि संकटाले अग्रता दोब्बर बनायो ।
३८औं मिनेटमा तेस्रो गोल गरेपछि संकटाले पहिलो हाफमै तीन गोलको अग्रता बनायो । ३८ मिनेटमा लक्ष्मण रूचालले तेस्रो गोल गरेका थिए ।
सिजन तेस्रो जित हात पार्दै ६ खेलसम्म अपराजित रहेको संकटा १२ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । मछिन्द्र १४ अंकसहित शीर्ष स्थानमा रहँदा मनाङ मर्स्याङ्दी क्लब १३ अंकसहित दोस्रो स्थानमा छ ।