काठमाडौँ, १० पुस
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३-१ ले पराजित गरेको छ ।
लिगमा लगातार दोस्रो जित निकालेको हिमालयन शेर्पाले यसअघि ब्रिगेड ब्वाइज विरुद्ध ३-१ ले नै जित हात पारेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पाको लागी २५ औं मिनेटमा केन्याका खेलाडी पिटोन मुटम्बाले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा पुनः मुटुम्बाले दोस्रो गोल गरेपछि हिमालयन शेर्पाले अग्रता दोब्बर बनाएको थियो ।
७५औं मिनेटमा च्यासलका रुमेश बर्तौलाले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याएका थिए । तर सुरेश कुमालले ८० औं मिनेटमा गोल गरेपछि हिमालयन शेर्पाले ३-१ को सहज जित हात पारेको हो ।
लिगमा लगातार दोस्रो जित निकाल्दै हिमालयन शेर्पाले ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।
च्यासलले भने सिजनको चौथो हार बेहोरेको छ । ६ खेलबाट ४ अंक रहेको च्यासल १३ औं स्थानमा रहँदै रेलिगेसन संघर्ष गरिरहेको छ ।