काठमाडौँ, २५ मंसिर
नेपाल क्रिकेट संघको शनिवार बिहान बसेको बोर्ड बैठकले पुबुदु दासानायकेलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
योसंगै पुबुदुले दोश्रो पटक नेपालको मूख्य प्रशिक्षण पद सम्हाल्ने छन्। पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो ।
डिभिजन-४ मा रहेको नेपाली टिमलाई दासानायेकेले डिभिजन-२ हुँदै एकदिवसीय विश्वकप छनोट तथा विश्व क्रिकेट लिग च्याम्पियनसिप सम्म पुर्याएका थिए।
५१ वर्षीय दासानायकेले श्रीलंका र क्यानडाको राष्ट्रिय क्रिकेट टिमको लागि समेत खेलेका थिए। विकेट किपर ब्याट्सम्यानले श्रीलंकाको लागि सन् १९९३ र १९९४ को बीचमा ११ टेस्ट तथा सोहि अवधिमा १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। त्यसपछि उनले क्यानडा राष्ट्रिय टिमको लागि २००५ आईसीसी ट्रफी खेलेका थिए। सन् २००७ मा उनि क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए र सन् २०११ एकदिवसीय विश्वकपमा क्यानडाको प्रशिक्षक रहेका थिए।
क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो ।
गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।
मूख्य प्रशिक्षक पुबुदुलाई क्यानले मासिक करिब १२ हजार डलर पारिश्रमिक दिने बुझिएको छ तथापी क्यान र पुबुदुले सम्झौता रकम भने औपचारिक रुपमा खुलासा गरेको छैन।
पुनः नेपालको प्रशिक्षकमा नियुक्त भएपछि पुबुदु दासानायकेले खुसि व्यक्त गरेका छन्।
“नेपाल क्रिकेट संघसंग काम गर्ने अवसर पाउँदा म खुसि छु र आफूलाई धन्य ठान्छु। मलाई आशा छ कि म नेपाल क्रिकेटलाई उचाईमा लैजान सक्नेछु। हामिसंग सिनियर र जुनियर स्तरमा पर्याप्त प्रतिभाशाली खेलाडीहरु छन्।” उनले बताए।
“म नेपाल क्रिकेट संघ, समस्त व्यवस्थापन र नेपालका क्रिकेट फ्यानहरुलाई यो सुन्दर अवसरको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु।” उनले थपे।
पुबुदुलाई प्रशिक्षक नियुक्त गरेपछि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले स्वागत गरेका छन् – “क्यान पुबुदु दासानायकेलाई नेपालको पुरुष टिमको मूख्य प्रशिक्षकको रुपमा स्वागत गर्न चाहन्छु। नेपाली क्रिकेटमा योगदान तथा एसोसीएट क्रिकेटमा उनको बिज्ञताको हामि सम्मान गर्छौं। म आशा गर्छु उनको दुई वर्षे कार्यकालमा नेपाली क्रिकेटले ठूलो फड्को मार्नेछ।”
चन्दले थप बताएका छन् – “प्रमूख प्रशिक्षक पुरुष राष्ट्रिय टिमको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शनमा निरन्तरताको नेतृत्व गर्न जिम्मेवार हुनेछन्। उनि क्रिकेट म्यानेजर ( बिनोद दास ) संग नजिक रहेर प्रशिक्षण कार्यक्रम, वर्तमान र भविष्यका क्रिकेटलाई प्रेरणा बन्न काम गर्नेछन्।”