म पेसाले पत्रकार त्यसैले समाजका सानासाना विषयमा रिपोटिङ गर्न रुचाउँथेँ । अरुको ध्यान नपुगेको अरुले नभेटको र नदेखेको ठाउँमा पनि गतिलो समाचार भेटिन्छ भन्ने पत्रकारिताको मन्त्रले मलाई हरेकपल चिमोटिरहन्थ्यो, लखेटिरहन्थ्यो । त्यसैले प्रत्येक दिन नयाँ र झिना विषयमा गहन समाचारको खोजी गर्दै हिँड्थेँ । यसै क्रममा मैले यी मानिसलाई पत्रकारको आँखाले हेरेको थिएँ ।
मैले निकैबेरसम्म उनको चियो गरिरहेँ । उनले किताबमा गाडेका आँखा उठाउँदै उठाएनन् । भण्डै तीस मिनेटसम्म उनको चासोमा समय व्यथित गरेर म हिडेँ ।
खै किन हो बाटोभरि मनमा उनैको बारेमा कुरा खेलिरह्यो, को होलान उनी ! किन चौतारोमा बसेर पढेका होलान् । के उनको कतै बस्ने ठाउँ छैन होला ! कि वा उनी कसैबाट प्रायोजित धर्म प्रचारक नै हुन ? मनमा यस्तै कुरा खेलाउँदै म कार्यालय पुगेँ । काम सकेर फर्कँदा झण्डै एघार बजेको थियो । त्यही बाटो भएर फर्किएँ । त्यस ठाउँमा पुगेर एकछिन रोकिँए । कोही थिएन् । चौतारोे सुनसान थियो । परतिर हेरेँ पीपलको पातले हातहल्लाएर कोही छैन, कोही छैन भनेझैँ लाग्यो । मैले आफ्नो बाटो तताएँ ।
अर्को बिहान आँखा खुल्नेबित्तिकै काग कराएको आवाज सुने । ओछ्यानबाटै पर्दा उघारेर हेरँ । सडककिनारामा ठिङ्ङ उभिएको बिजुलीको पोलमाथि बसेर एउटा काग कराईरहेको थियो, का ऽऽ का ऽऽ…क ऽऽऽ क ऽऽ…क्रा ऽऽऽऽऽ…।
कोठाको पर्दा उघारेँ घाम झलमल्ल कोठाभरि छरिए । कागले मेरै कोठातिर हेरिरहेको रहेछ । मसँग आँखा जुध्नेबित्तिकै काग भुर्र उडेर गयो । बेगहानेर निकै टाढा पुग्यो र क्षितिजमा अलप भयो ।
ढोका खोलेर आङतान्दै भ¥याङतिर हेरेँ कान्तिपुर दैनिक लडिरहेको रहेछ । उठाएँ, प्रथमपृष्ठमा छापिएको कार्टुनमा आँखा पुगे । गरिबी झल्किने व्यँग्यात्मक कार्टुन, रुखको छहारीमा एकबृद्ध मानिस अगाडि रित्तो थाल । माथि बिजुलीको पोलामा काग । पोलको वीचमा समृद्धि लेखिएको ब्यानर । कार्टुन देख्नेबित्तिकै अघिल्लो दिन बाटोमा मैले देखेका तिनै बृद्धमानिसको झल्को आयो । एकछिन मन खेलाएँ । खटपटी भयो । उठेर हिँडिजाउँ र ती बृद्ध मानिसलाई भेटिहालौँ । उनीसँग केही कुरा सोधौँजस्तो भयो तर उठिन । मन थामे र बसेँ ।
त्यही बाटो भएर म सधैँ कार्यालय आउनेजाने गरिरहन्थेँ । ती बयोबृद्ध मानिस दिनहुँजसो त्यही ठाउँमा देखिन्थे, त्यही बरको रुखमुनि । कहिले ध्यान गरेझैँ घण्टौँसम्म अविचलित मुर्तिवत बसिरहन्थे । कहिले वरिपरि असरल्ल कितावहरु फिँजाएर धेरैबेरसम्म घोप्टिइरहन्थे । कहिलेकाहीँ आफ्नै उमेरका बृद्धहरुसँग गफिई रहेको पनि देखिन्थ्यो ।
कुनैदिन उनलाई त्यस ठाउँमा नदेख्दा किनकिन मलाई खल्लो लाग्न थालेको थियो ।
म हरेकदिन कार्यालय जानेआउने बाटो त्यही भएकोले हरेकपटक उनको नजिक पुगेपछि म एकछिन अडिन्थेँ । उनको हाउभाउ बिचार गर्थेँ । उनका विषयमा धेरै कुराहरु उठ्थे । खै किन हो मनमा खुल्दुली पैदा हुन्थ्यो । मनमा केही तरङ्गहरु उठ्थे र त्यसै सेलाउँथे । उनका विषयमा थुप्रै प्रस्नहरु उठ्थे र थचारिन्थे । उठेका अनेक जिज्ञाशालाई थाती राखेर मन यसै मार्थेँ र अनुत्तरित अगाडि बढ्थेँ ।
एकदिन कामकै सिलसिलामा त्यहि बाटो भएर हिँडिरहँदा उनैले बोलाए । एकछिन त म अलमलमा परेँ । छेउमा अरु नै कोही छ र अरुलाई नै बोलाएको हो कि भनेर । तर उनले मेरो पेशाको बारेमा पनि राम्रै जानकारी राखेका रहेछन् । म अलमल परेको बुझेर पूनः बोलाए, “ए पत्रकार बाबु मैले तिमीलाई नै बोलाएको एकछिन यता आऊ न” ।
यसरी प्रेमपूर्वक मर्यादित पेशाको सम्मान गर्दै बोलाएकोमा मनमनै गर्व गर्दै नजिकै गएँ । एकछिन उभिइरहेँ । उनले भने, ‘आज बाबुसँग बोल्न मन लाग्यो । मैले केही समयदेखि बिचार गरिरहेको थिएँ । तिमी यो बाटो हिँड्दा यहाँनेर आएपछि एकछिन रोकिन्थ्यौ । मसँग केही भन्न, केही बोल्न वा केही सोध्न खोजेको जस्तो लागिरहेथ्यो त्यसैले आज तिमी मेरो छेउ आएर रोकिनु अगाडि नै बोलाएको, कतै हतारमा त छैनौ’ ?
मलाई एकछिन के भनौ के भनौजस्तो भयो । तैपनि फुत्त भनिहालेँ, फुर्सद भनेर कामै नभएको त होईन तर त्यस्तो हतारोको काम पनि खासै छैन् । मलाई पनि हजुरसँग कुरा गर्ने चाहना धेरै समयदेखि नै थियो । संयोग आज मिल्यो ।
मैले त्यति भनेपछि उनले छेउमा बस्ने आग्रह गरे । म उनले ओछ्याएको सुक्कुलको छेउमा बसेँ । सुक्कुलमा दुईजना बस्दा हामी एकआपसमा टाँसियौँ । उनले मलाई एकदम नजिकको आफन्त वा भनौ आफ्नै सन्तानझैँ स्नेहपूर्वक अङ्गाले । अस्वाभाविक उकुसमुकुस भयो तर प्रेममयी । शरीर त्यसै हलुका भएको महशुस् भयो ।
म नौ÷दश वर्षको नाबालक हुँदै बुबाको स्वर्गवास भएकोले मलाई बुबाको न्यानो अङ्गालोको भोक लागिरहन्थ्यो । पाका मानिसहरुसँग बसेर जीवनको उत्तराद्र्ध बुझ्ने हुटहुटीले मलाई सधैँ पिरोल्थ्यो, घँचेटथ्यो र लखेटिरहन्थ्यो । त्यसैले पनि हुनुपर्छ उनको त्यो स्नेही स्पर्श मेरालागि अभूतपूर्व सुखानुभूति सावित भयो । मैले एकैपटक धेरैकुरा प्राप्त गरेको अनुभव गरेँ । उनको न्यानो आलिङ्गनले मेरो सुसुप्त पितामोह झन जाग्रित गरायो । एकछिन मलाई बुबाको अभाव पूर्ति भएको आभाष् भयो । केहीछिन बुबाको स्मृतिमा बिचलित भएँ । स्मृतिको तलाउ छचल्किएर मेरा गहसम्म नुनिलो पानी भरियो । वाक्य एकछिन रुद्रघण्टीसम्म आएर रोकियो । क्रमश…