…कोही बाँस बोकेर, कोही दाउरा बोकेर, कसैले बन्चरा, खुकुरी आदि बोकेर आए । मलाई अनौठो लाग्यो । मैले आजसम्म कसैको लाश घाट लगेको देखेकै थिईन । के गर्छन् होेला हजुरबालाई यतिका मान्छे भएर । म अचम्ममा परेको थिएँ । हजुरबाको लाशसँगै गुरुरु मलामीहरु हिँडे ।
म पनि पछिपछि लागेँ…घाटतिर ।
घरमा सबै रुवाबासी गर्न लागेकोले मलाई कसैले रोकेन । म शङखको एकोहोरो आवाजको पछिपछि गएँ ।
जङ्गलै जङ्गलको बाटो, ओरालै ओरालो । सल्लीपिर र सुकेका पत्करमा चिप्लिएर म छ, सात पटक लडेँ । दुईठाउँ लड्दा त बेस्सरी घुँडा दधारियो । पाइजामा नै दुलो प¥यो । लाश बोकेका मान्छेहरु कहाँ पुगे कहाँ । मात्रै शङ्ख बजेको आवाज सुनेर म पछिपछि दगुरीरहेँ ।
एकदुईजना मान्छे मेरो पछि थिए । उनीहरु भन्दै थिए । गाउँको ज्यादै भलादमी र असल मान्छे अकालमै गयो । त्यस घरको मियो उखेलियो । अगाडि भन्दै थिए । तर साह्रै राम्रो मरन । न कसैले स्याहार सुसार गर्नु प¥यो, न गुहुमुत गर्नु प¥यो । काम गर्दा गर्दै एकैछिनमा चोला उठ्यो ।
म घाटमा पुग्दा हजुरबालाई खोलाको पानीमा खुट्टा डुबाएर ठाडो पारेर राखेको देखेँ । वरिपरी केही मलामी गएका बुढापाकाहरु टाक्राकटुक्रुक बसेका थिए । म पनि अलि परतिर ढुङ्गामाथि बसेँ र हजुरबालाई नै टुलुटुलु हेरिरहेँ ।
गाउँबाट झरेका मलामी आधा पनि थिएनन् । कहाँ गए होला ! मलाई आश्चर्य लागिरहेको थियो । केहीछिनमै जङ्गलतिरबाट सुकेका दाउरा र मुढाहरु बोकेर झरे । दाउराको माच बनाए । चिता रहेछ । हजुरबालाई त्यसमाथि राखे । हजुरबाले लगाएका सबै कपडा खोले । भेला भएका सबै मलामीले खोलाको पानी अन्जुलीले उघाउँदै हजुरबाको मुखमा हालिदिए । एकजनाले मलाई पनि त्यसै गर्न लगाए । मैले पनि एक अन्जुली पानी हजुरबाको मुखमा हालिदिएँ र एकपटक हजुरबाको मुख हेरेँ । हजुरबाले मुख आँऽऽ गरिरहनु भएको थियो । मलाई लाग्यो यति पानी खाएपछि हजुरबा ब्युँभे पनि हुने नि, उठे पनि हुने नि ।
फेरि त्यसमाथि केही दाउरा र तुलसीका सुकेका झ्याँक्रा थुपारे ।
त्यसपछि बाजेले बात्ती सल्काएर बुबाको हातमा दिए । बुबाले त्यो बात्ती हजुरबाको मुखमा राखिदिनु भो । दागबत्ती रहेछ । म बेस्सरी चिच्याएर रोएँ । हजुरबालाई पोल्यो भन्ने लागेर । बबा पनि रुनु भो ।
हेर्दाहेर्दै हजुरबाको शरीरमाथि दनदनी आगो बल्न थाल्यो । बुबा र एकदुईजना मलामीबाहेक सबै दर्गदिसा लागे । कोही नुहाउन थाले, कोही पौडी खेल्न थाले । हेर्दाहेर्दै त्यत्रो दाउराको राससँगै हजुरबाको शरीर खरानी भयो । अलिअलि बाँकी रहेको खरानी पनि सबैले पानी छेपेर बगाए ।… क्रमश…