तनहुँ : रोटरी क्लब अफ नारायणगढको सहयोग र देवघाट गाउँपालिकाको सहकार्यमा तनहुँको देवघाट गाउँपालिका– ५ स्थित साउनेमा बालविकास केन्द्र भवन शिलान्यास गरिएको छ । करीब रु १० लाखको लागतमा निर्माण गर्न लागेको सो भवनको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले शिलान्यास गर्नुभयो । उक्त केन्द्रमा भुजेल समुदायका १५ बालबालिकाले अध्ययन गर्दै आएका छन् । बालबालिका अध्ययन गर्ने भवन पुरानो र जोखिम भएकाले नयाँ भवन निर्माण गर्न लागिएको वडाध्यक्ष यालबहादुर गुरुङले जानकारी दिनुभयो । त्यसैगरी रोटरी क्लबको ग्लोबल ग्रयाण्डअन्तर्गत सोही ठाउँमा सिँचाइ र खानेपानीको बृहत् सर्वेक्षण गरिएको रोटरी क्लब अफ नारायणगढ संस्थापक अध्यक्ष नीरञ्ज प्रधानले बताउनुभयो ।
