जून देखे जुनै माग्ने तारा देखे तारा
जे जे गर्छन् अरुअरु त्यही चाहिने सारा
भनेजस्तो नभएमा लात मार्ने आमालाई
रोईरोई सताएर कायल पार्ने बाबालाई
कहिले चढ्दै बुईमाथि कहिले काँधमाथि
कसले सक्ला बिर्सन त्यो बालापन साथी
कहिले सोध्ने अनौठा ती प्रस्नै प्रस्नहरु
माटो के हो ? के हो आकाश ? काँ छन देउताहरु
हावा किन चल्छ बाबा, पानी किन बग्छ ?
यस्तै बाल हठको उत्तर दिन कसले सक्छ
जे गरे नि, जे भने नि हुन्थे सबै जाती
फेरि पाए माग्थेँ मता बालापन साथी
नगर है भनेपछि त्यही गर्नु पर्ने
गाह्रोसाह्रो अप्ठेरोमा आफैँ अघि सर्ने
नगर्ने हो जानेपछि जिद्दी त्यसमै गर्ने
नजाऊ है भनेतिर गएको गयै गर्ने
छाडै कुरा भए पनि भन्ने हाँसी हाँसी
कहिल्यै पनि फर्कँदैन बालापन साथी ।
– बालबोलीबाट